दार्चुला । दार्चुलामा दसैँतिहार छठपर्व जस्ता ठूला चाडपर्वलाई मध्यनजर गदैँ सोमबार देखि सहुलियत मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
हिन्दु नेपालीहरूको महान् चाडदशैँ, तिहार लगायत छठपर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालनमा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका प्रमुख हर्कराज उपाध्यायले जानकारी दिए ।
कार्यालयले अगामी कार्तिक ७ गतेसम्म सहुलियत मूल्य पसल संञ्चालनमा ल्याएको उहाँले बताउनु भयो । सहुलियत मूल्य पसल संञ्चालनका बेला कार्यालयले जिल्लाका नागरिकलाई प्रतिकेजी पाँच रुपैयाँ छुट सहुलियतमा चामल विक्री गर्ने जनाएको छ ।
सहुलियत मूल्य पसल संञ्चालनमा आएपछि अब ग्राहकले २१ सय ५० रुपैँयामा स्टिम जिरा मसिनो चामल पाउने भएका छन । यस्तै अरुवा मोटा चामल र अरुवा मोटा पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल १४ सय ५०मा विक्रीका लागि राखिएको कार्यालयले जनाएको छ ।
यसअघि स्टिम जिरा मसिनो चामलको मूल्य रु २ हजार २ सय रुपैँया, अरुवा मोटा चामल र अरुवा मोटा पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामलको मूल्य रु १ हजार ५५० रुपैयाँमा विक्रीवितरण हुँदै आएको थियो । कार्यालय संग अहिले स्टिम जिरा मसिनो चामल २८० क्विन्टल मौज्दात रहेको छ ।
यस्तै अरुवा मोटा चामल ११६.७० क्विन्टल मौज्दात हुदाँ अरुवा मोटा पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल ९१.५सय क्विन्टल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाकाले
जनाएको छ ।
सहुलियत मूल्य पसल संञ्चालन जिल्लाको अपि हिमाल गाउँपालिकामा रहेको खण्डेश्वरी विक्री केन्द्रबाट समेत भइरहेको छ । कार्यालयले हरेक वर्ष दशै, तिहार र छठ जस्ता पर्वहरुमा खाद्यान्नमा छुट दिने व्यवस्था गरेको छ । सहुलियत पसलबाट कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हरेक चाडपर्वमा बजारमा अचानक मूल्य बढ्ने, उपभोक्तालाई ठगिने तथा व्यापारीले कृत्रिम अभाव सृजना गर्नेजस्ता समस्या देखिने भएकाले यो पटक पनि समयमै सहुलियत पसल सञ्चालन गरिएको शाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो । स्थानीय उपभोक्ताले भने सहुलियत पसलले आफूहरूलाई प्रत्यक्ष राहत पुगेको बताएका छन् ।