दार्चुला । दार्चुलामा जेन–जी आन्दोलनबाट जिल्ला कारागारमा क्षति पुगेको छ । गत चैत्र २४ गते भएको जेन–जी आन्दोलनबाट जिल्ला कारागारमा ठुलो क्षति पुगेको हो ।
जेन–जी आन्दोलनको मौका पारेर कारागार तोडेर भागेका कैन्दी तथा थुनुवाहरूले कारागारमा ठुलो क्षति पुर्याएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
जेनजी पुस्ताले देशभर नै विभिन्न स्थानमा तोडफोड गरेसँगै २४ गते राती दार्चुला कारागारमा रहेका कैदी तथा थुनुवाहरूले आफूहरू निस्कन पाउनुपर्ने भन्दै तोडफोड गरेको उनले बताए ।
कैदीबन्दीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसकेपछि सबै कैदी कारागारबाट सोही दिन राती ८ बजे कारागारबाट भागेका थिए ।
तोडफोड बाट कारागारमा जडान गरिएको सीसीटिभी क्यामेरा सहित झण्डै ५१ हजार पाँच सय रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अहिले क्षति पुगेको ठाउँमा मर्मत सम्भार गरिएको छ । अहिले सम्म कारागारबाट भागेका ७० जना मध्ये ६३ जनालाई नियन्त्रणमा लिइएका र अझै ७ जना फरार रहेको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लास्थित तीनवटै सुरक्षाकर्मी परिचालन गरी फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सफल भएको प्रजिअ पौडेलले बताए। कारागारबाट फरार अन्य कैदीबन्दीलाई पनि तत्काल सम्पर्कमा नआए कारबाही गर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भदौ २४ गतेदेखि भदौ २८ गतेसम्मको अवधिमा जिल्लाका अन्य आठ वटा कार्यालयमा क्षति पुर्याएको छ ।
भदौ २४ गते भएको आन्दोलनको क्रममा जिल्लामा रहेका तीन वटा राजनीतिक पार्टी कार्यालय, दुई वटा वडा कार्यालय, जिल्ला कारागार, गोकुलेश्वर अस्पताल र रेडियो लोकदर्पण एफएमको कार्यालयमा क्षति पुगेको सुरक्षा स्रोतले जनाएको छ ।