दार्चुलामा यात्रु र नागरिक सहायता कक्ष स्थापना

दार्चुला । दसैँ, तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुला र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाको संयुत आयोजनामा यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरिएको हो ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाका तीन ठाउँमा यात्रु सहायता कक्ष र नेपाल–भारत जोड्ने सबै सीमा नाकाहरुमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ । दसैँ, तिहार जस्ता चाडपर्वको बेला समस्यामा परेका यात्रुलाईसमयमै सहयोग गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख,प्रहरी निरीक्षक सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

‘दसैँ तिहारलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो, प्रहरी निरीक्षक रावतले भने, यो बेला हुने यात्रुको चाप, ठगिने सम्भावना, सवारी साधनमा क्षमता भन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र नागरिकको समस्या सहजताका लागि सहायता कक्षले सहयोग गर्नेछ ।

जसका लागि जिल्ला सदरमुकामको वीरेन्द्र वनस्थित बस पार्क क्षेत्र, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर र मार्मा गाउँपालिकाको लटिनाथ क्षेत्रमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।सीमामा नागरिक सहायता कक्ष स्थापनाले

सीमा पुल भएर आवत जावत गर्ने नागरिकले आफूलाई समस्या परेमा सुरक्षाकर्मीबाट सहयोग लिन सक्नेछन्, भने बसपार्क लगायत अन्य क्षेत्रमा स्थापना गरिएका यात्रु सहायता कक्षबाट यात्रुहरूले जुनसुकै समस्यामा पनि सुरक्षाकर्मीको सहयोग लिन सक्ने बताइएको छ ।

यस्तै भारतसँग सीमा जोडिएका दार्चुलाका सबै नाकाका झोलुङ्गे पुलहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । महाकाली नगरपालिकाको धाप, दत्त, व्यासँ गाउँपालिकाको बडूगाउँ मालिकार्जुन गाउँपालिकाको जोलजिवीमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाका बढी भिडभाड हुने स्थानहरुमा समेत यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गर्ने तयारी रहेको प्रहरीले जनाएको छ । मानिसहरू दसैँका लागि गाउँघर जाने क्रम बढेसँगै दार्चुला सदरमुकाम खलङ्गासहित बजार क्षेत्रमा भिडभाड घट्दै गएको छ । शैक्षिक संस्था र सरकारी कार्यालय बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । फुुलपातीदेखि सरकारी कार्यालय समेत बन्द हुने भएकाले सदरमुकाम क्षेत्र सुनसान हुने गर्दछ ।

Leave A Reply

Your email address will not be published.