दार्चुला । जिल्ला निर्वाचन कार्यालय दार्चुलाले ८८ जनाको नाम मतदाता नामावलीमा समावेश गरेको छ । असोज १० गते शुक्रबारबाट सुरु भएको मतदाता नामावली सङ्कलन कार्य अन्तरर्गत हिजो विहिबार सम्म ८८ जनाको नाम मतदाता नामावलीमा समावेश गरिएको हो ।
निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी चित्रप्रकाश जोशीले दिएको जानकारी अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले जिल्ला निर्वाचन कार्यालयमा पुगेर आफ्नो नाम दर्ता गराएको बताएका छन ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि निर्वाचन कार्यालय दार्चुलाले १० असोज देखि मतदाता नामावली सङ्कलन कार्य सञ्चालन गरेको उनले बताए ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार असोज १० गते १ जना १२ गते १७ जना १९ र २० गते समान २÷२ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन ।
यस्तै असोज २१ गते ९ जना २२ गते ३१ जना र २३ गते २६ जनाले नाम दर्ता गराए छन । निर्वाचन कार्यालयले नामावली दर्ताका लागि अगामी कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ ।
कात्तिक ३० पछि निर्वाचन कार्यक्रम सुरु हुने हुँदा नामावली सङ्कलनका लागि सो समयसीमा तोकिएको सुचना अधिकारी जोशीले जानकारी दिए ।
निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी चित्रप्रकाश जोशीले नामावलीमा नाम दर्ता गराउन १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले जिल्ला निर्वाचन कार्यालयमा आएर नामावली टिपाउन आग्रह गरेका छन ।
सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ देखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न पाइने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन कार्यालय दार्चुलाका अनुसार जिल्लामा हाल १८वर्ष पुरा भएका ९० हजार ७८२ जना मतदाता रहेको छन ।
जसमध्ये पुरुष ४६ हजार ४३५जना र महिला ४४ हजार ३४७ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोक्नुभएको छ ।