काठमाडौं । जेन–जी आन्दोलनका क्रममा प्रहरी हत्यामा संलग्न अर्का अभियुक्त पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको ज्यान जाने गरी कुटपिट गर्ने सोमबहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए । गोरखाका २१ वर्षीय सोमबहादुर हाल काठमाडौं, धुम्बाराहीमा बसोबास गर्दै आएका थिए ।
सोही घटनासँग सम्बन्धी दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । काभ्रेको रोशी गाउँपालिका– ९ राजबास घर भई काठमाडौंको बालुवाटारमा डेरा गरी बस्ने वर्ष २८ का युवराज क्याप्छाकी र मकवानपुरस्थ्ति थाहा नगरपालिका– ७ बतासे घर भई काठमाडौंको चन्द्रागिरीमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने बुद्धिमान थिङ कारागार चलान भएका हुन् ।
सोमबार पक्राउ परेका गुरुङ जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । तिहार बिदाका कारण उनको म्याद थप भएको छैन । बिदा सकिनासाथ म्याद प्रक्रिया अघि बढ्ने भट्टराईले बताए ।