जात्रा हेर्न गएका युवक मृत फेला

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का अन्दाजी २० वर्षका भुवन धमला मृत भेटिएका छन्।

कार्तिक ३ गतेदेखि बेपत्ता भएका उनी चार दिनको निरन्तर खोजबिनपछि शुक्रवार मृत अवस्थामा फेला परेका हुन्।

भुवन चौकुनेकै वडा नम्बर १० मा पर्ने घाटगाउँमा लाग्ने भुवा जात्रा हेर्न गएका थिए। रातिको समयमा लाग्ने उक्त जात्रामा गएका उनी भोलिपल्ट घर नफर्किएपछि खोजी सुरु गरिएको थियो।

शुक्रबार उनको शव तामाधारा खोलाको ताताथाई क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनाको प्रकृति रहस्यमय देखिएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए।

यसैबिच, चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले घटनालाई लिएर दु:ख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

Leave A Reply

Your email address will not be published.