नेता कि मान्छे?

प्रा. डा. मन प्रसाद वाग्ले

झुक्याई जनता लुटी मत थुती या किन्छ पैसो तिरी
ढुक्कै छिर्दछ ठालु भै सदनमा जागीर पक्का गरी
थाल्यो सुँघ्न कमाउने धुन गरी डग्दैन नेता छ ऊ
देख्दा मानिस झैँ छ आकृति सबै मान्छे कहाँ हुन्छ ऊ?

आफ्नो गाउँ थलो चुनावी जगमा फुर्ती उकालो सरी
ठेक्काको अब काम गर्छ सब ऊ आदेश सारा गरी
तोड्दै न्याय र देशका नियम ती नेता बनेको छ ऊ
देख्दा मानिस झैँ छ आकृति सबै मान्छे कहाँ हुन्छ ऊ?

व्यापारी सब छन् र मित्र असली गुण्डा फटाहा सब
आफ्नो शक्ति लगाउँदै गुन तिरी नाफा दिलायो जब
कुस्तै आर्थिकको उपार्जन भयो जित्नैछ वर्षौँ अरू
देख्दा मानिस झैँ छ आकृति सबै मान्छे कहाँ हुन्छ ऊ?

आम्दानी जति भो दशांस सहजै तिर्दै बनायो जग
पार्टी दङ्ग परी पुरस्कृत गरी भो निर्विकल्पै अब
आफ्ना ती दलका रिझाउन बडा दल्दैछ नौनी अरू
देख्दा मानिस झैँ छ आकृति सबै मान्छे कहाँ हुन्छ ऊ?

✍️ प्रा. डा. मन प्रसाद वाग्ले

Leave A Reply

Your email address will not be published.