दोष अरुलाई दिएर के फाईदा

लक्ष्मण दियाल

तिम्रो मेरो स्कूल, कलेजका पुस्तकहरुमा लेखिएको कुरा अर्कै छ,
र, हाम्रो व्यवहारमा देखिएको कुरा अर्कै छ!
हामी स्कूलमा पढाउछौँ : निर्धा, निर्दोष, कमजोर, दुःखी माथी दया गर्नु पर्छ,
तर, निर्धो, निर्दोष, कम्जोर कुखुरो, बाख्रो कुकरमा पकाइएको घर घर मै छ!

तिम्रो मेरो पत्रकारीता आचार नीतिमा लेखिएको कुरा अर्कै छ,
र, हाम्रो व्यवहारमा देखिएको कुरा अर्कै छ!
हामी पत्रकारीता मार्फत सकारात्मकता, सत्य, न्याय फैलाउनु पर्छ भन्छौँ,
तर, नकारात्मकताको प्रचार खबर खबर मै छ!

तिम्रो मेरो राजनैतीक दर्शन/सिद्धान्त र घोषणापत्रमा लेखिएको कुरा अर्कै छ,
र, हाम्रो व्यवहारमा देखिएको कुरा अर्कै छ!
हामी पार्टीपिच्छे नै लोकतन्त्र, समाजवाद, साम्यवाद बारम्बार भट्याउँछौँ,
तर, ब्यक्तीबाद, सामन्तबाद अधिकांश जनता र नेताको आचरण मै छ!

तिम्रो मेरो धर्म ग्रन्थहरूमा लेखिएको कुरा अर्कै छ,
र, हाम्रो व्यवहारमा देखिएको कुरा अर्कै छ!
हामी प्रवचन, भजनमा भन्छौँ, सुन्छौँ,
“ईश्वर एक , मानव जाती नै एक”,
तर, संसारमै सबैभन्दा ठूलो लफडा ‘कस्को ईश्वर ठूलो’ भन्ने गदर मै छ!

दोष अरुलाई दिएर के फाईदा?
सत्य यही हो कि दोष त तिम्रो र मेरो नजर मै छ,
र, दोष त तिम्रो र मेरो घर घर मै छ!

✍️ लक्ष्मण दियाल
प्रधानाध्यापक, वात्सल्य विद्या निकेतन बेलौरी, कञ्चनपुर

Leave A Reply

Your email address will not be published.