दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका अन्तर्गतका गोकुलेश्वर अस्पताल तथा विभिन्न स्वास्थ्य चौकी–आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुखहरूले स्वास्थ्य सेवा प्रभावित भएको भन्दै शुक्रबार प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले बुझाएको ज्ञापनपत्रमा स्थायी दरबन्दी नपुगेको, करार कर्मचारीको म्याद २०८२ साउन १ गतेदेखि कात्तिक १९ गतेसम्म पनि नथपिएको र नगरपालिकाले सञ्चालन गर्ने तीनमध्ये वन्तोली आधारभूत स्वास्थ्य सेवा केन्द्र, आठ वटा सामुदायिक स्वास्थ्य इकाइ र चार वटा शहरी स्वास्थ्य इकाइ पूर्ण रूपमा बन्द रहनु परेको गम्भीर अवस्था उल्लेख छ । करार स्वास्थ्यकर्मी, कार्यालय सहयोगी तथा सरसफाइ कर्मचारीको म्याद नभएकाले सबै सेवा बन्द हुन सक्ने चेतावनी ज्ञापनपत्रमा दिइएको छ ।
स्वास्थ्य संस्थामा उपलब्ध हुनुपर्ने ९८ प्रकारका नि:शुल्क वितरणयोग्य औषधि तथा परिवार नियोजनका अस्थायी साधन नियमित रूपमा नआएकाले सेवा प्रवाह धेरै प्रभावित भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । यसबाहेक, विद्युत महसुल, इन्धन तथा सञ्चार–खर्च भुक्तानी गर्न स्रोत नहुँदा गत वर्षदेखि नै सबै स्वास्थ्य संस्थाहरू वित्तीय संकटमा परेको उल्लेख छ । नगरपालिकाका अरू सरकारी कार्यालयले प्रशासनिक खर्च पाउँदै आए पनि स्वास्थ्य संस्थाले भने वर्षौंदेखि कुनै प्रशासनिक बजेट नपाएको गुनासो पनि उनीहरूले राखेका छन् ।
समस्याहरू तत्काल समाधान नगर्ने हो भने शैल्यशिखरका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन बाध्य हुने र त्यसको प्रत्यक्ष जिम्मेवारी नगरपालिका प्रशासनको हुने चेतावनी ज्ञापनपत्रमा दिइएको छ । उक्त ज्ञापनपत्रमा गोकुलेश्वर अस्पताल, शिखर स्वास्थ्य चौकी, लुइटा, बोहरीगाउँ, ओखडानी, देथला तथा ग्वानी स्वास्थ्य चौकी, र रानीशिखर स्वास्थ्य चौकीका प्रमुखहरू मञ्जु बिष्ट, दलबहादुर खडायत, लोकेन्द्र बहादुर चन्द, कृष्णानन्द पन्त, लोकेन्द्रसिंह डाँगा, उर्मिला हुम्ली, सुसिला कुवर र नारायणदत्त भट्टले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
