दार्चुलामा पाँच सय ५५ जना नयाँ मतदाता थपिए

मतदानका लागि उमेर १८ वर्ष पूरा हुनुपर्ने

दार्चुला । आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुलामा नयाँ मतदाता नामावली तथा अद्यावधिक कार्यमा युवाको उत्साहजनक सहभागिता देखिएको छ ।

जारी रहेको मतदाता नामावली सङ्कलन अभियानमा हालसम्म पाँच सयभन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार गत असोज १० देखि कात्तिक २३ सम्म जम्मा ५५५ जनाको नामावली दर्ता भइसकेको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्र प्रकाश जोशीका अनुसार कात्तिक पहिलो सातापछि मतदाता नामावली दर्ता गर्नेको उत्साहजनक सहभागिता देखिँदै आएको बताएका छन् ।

यसअघि दसैँतिहार, जात्रा पर्व जस्ता चाडबाडका कारण केही समय काम प्रभावित बने पनि हाल भने दैनिक रूपमा ३५ जनासम्म नयाँ नाम दर्ताको काम भइरहेको सूचना अधिकारी जोशीले बताए ।

हालै सरकारले ल्याएको अध्यादेश अनुसार ‘जेनजी पुस्ता’ का युवा मतदाताले पनि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न पाउने भएपछि नाम दर्ता गर्न आउने युवाको सङ्ख्या उल्लेख्य रूपमा बढेको सो

कार्यालयले जनाएको छ । निर्वाचन आयोगले यस पटक देशभरका नागरिकलाई जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावली दर्ता वा अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ ।

मतदानका लागि उमेर १८ वर्ष पूरा हुनुपर्ने छ । नामावली दर्ता तथा अद्यावधिक प्रक्रिया कात्तिक ३० सम्म जारी रहने छ ।

Leave A Reply

Your email address will not be published.