भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले अगामी मंसिर २ गते देखि जिल्लाभरी खोप अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पशुलाई महामारी रोगबाट बचाउन जिल्लाभरी खोप अभियान संञ्चालनको तयारी गरिएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका निमित्त प्रमुख लाल बहादुर बोहराका अनुसार गाईभैसी,भेडाबाख्रा, र याक चौरीलाई खोप लगाइने उनले बताए ।
गाईभैसी भेडाबाख्रा, र याक चौरीलाई एफएमडी र पिपिआर खोप दिइने कार्यालयले जनाएको छ । यस आर्थिक वर्षभित्र गाईभैसीमा खोरेत रोगको लागि ५० हजार, लम्पी स्किन ३० हजार, भेडा बाख्रामा पिपिआर ९० हजार, खोरेत ४० हजार, ७ सय याक/चौरीगाईमा खोरेत र ६ सय बङ्गुरमा स्वाइन फिवरका लागि खोप लगाउने लक्ष्य राखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा पिपिआर खोप ६६ हजार ५ सय, एफएमडी खोप १९ हजार ७ सय, एलएसडी खोप १७ हजार ५ सय र रेबिज रोगविरुद्धको खोप ४ सय ३३ गरी जम्मा १ लाख ३७ हजार खोप लगाइएको थियो । यससम्बन्धी कार्यालयले गएको बुधबार कार्यालयमा पूर्ण खोप अभियानका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न समेत गरेको छ ।
