गोकुलेश्वरमा मापसे चेकजाँच कडाइ ,४७ हजार राजश्व संकलन

दार्चुला गोकुलेश्वर।मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी साधन चलाउने चालकविरुद्ध गोकुलेश्वरमा कडाइका साथ चेकजाँच अभियान सञ्चालन गरिएको छ।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वर र ट्राफिक प्रहरीको संयुक्त टोलीले मंसिर र पुस महिनामा गरेको चेकजाँचका क्रममा जम्मा २२ वटा सवारी साधनलाई कारवाही गरिएको छ। राजमार्ग अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा नियमित रूपमा मापसे चेकजाँच भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अबदेखि मापसे सेवन गरी सवारी चलाउने जुनसुकै सवारी चालकलाई नियन्त्रणमा लिइनेछ। साथै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नबनाई सवारी साधन चलाउने सवारीहरूलाई समेत ‘होल्ड’ मा राखिने गरिएको छ।
ट्राफिक प्रहरी पोष्ट गोकुलेश्वरको तथ्यांक अनुसार उक्त कारवाहीबाट अघिल्लो महिना र चालु महिनासमेत गरी ४७ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरज सिंह भाटले सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई ध्यानमा राखी चेकजाँचलाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो।
उक्त कारवाहीका सबै विवरणहरू ईलाका प्रहरी कार्यालय गोकुलेश्वरको एरियाभित्र पर्ने स्थानहरूमा गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सुरक्षित यातायातका लागि नियमको पालना गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.