काठमाडौं । दुबईको एक अदालतले मृत्युदण्डको फैसला सुनाएका दार्चुलाका अमरबहादुर बमको बचाउका लागि अभियान थालिएको छ । बुधबार पत्रकार सम्मेलन गरी अभियान घोषणा गरिएको हो ।
सरकारको ध्यानार्कषण गराउन र बमको रिहाइको पहलका लागि दबाब दिन देशव्यापी अभियान थालिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिएको अभियन्ता जन्मदेव जैसीले बताए ।
पुस ११ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, पुस १२ गतेदेखि सामाजिक सञ्जालमा फोटोसहित सरकार निर्दोष अमरलाई बचाउ भनेर अभियान चलाउने, पुस १४ गते राजदूतावासलाई पत्र बुझाइने अभियानले जनाएको छ ।
त्यस्तै, पुस १६ गते प्रधानमन्त्रीलाई ह्यासट्याग गरेर सामाजिक सञ्जाल अभियान चलाउने, पुस १७ गते प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई एसएमएस पठाउने, पुस २० गते हस्ताक्षर अभियान गर्ने र पुस २२ गते संकलित हस्ताक्षर परराष्ट्र मन्त्रालयमा बुझाउने कार्यक्रम समेत घोषणा गरिएको हो ।