दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको समन्वयमा सशस्त्र प्रहरी बल, नेपाल बैद्यनाथ फिल्ड अस्पताल अत्तरीया कैलालीले दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ्गका नागरिकलाई स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ ।
सशस्त्र प्रहरी गण दार्चुलाका गणपति देवराज जोशीका अनुसार मङ्गलबार फिल्ड अस्पताल अत्तरीया कैलालीका सशस्त्र प्रहरी निरिक्षक डा. चेतबहादुर धामीको कमाण्डमा खटिएको पाँच जनाको टोलीले स्वास्थ्य परीक्षण शिविर मार्फत दुम्लिङ्ग गाउँका २९ जना पुरुष तथा ३६ जना महिला गरी ६५ जना सीमाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको बताएका छन् ।
अगामी माघ ९ गते हुने २५ औं सशस्त्र प्रहरी दिवसको पुर्वसन्ध्यामा स्वास्थ्य शिविरको आयोजना गरि सेवा प्रदान गरिएको उनले बताए । दुम्लिङ्ग स्थित नेपालको झोलुङ्गो पुल सुरक्षा पोष्ट मालघाटमा आयोजना गरिएको स्वास्थ्य शिविरमा राप्ला, माल, दुम्लिङ्ग गाँउका नागरिकलाई सेवा प्रदान गरिएको सशस्त्र प्रहरीले बताएको छ । स्वास्थ्य परीक्षण पछि स्थानीयलाई नि:शुल्क औषधि समेत वितरण गरेको छ । स्वास्थ्य सेवा पाएपछि सिमाक्षेत्रका नागरीकहरु खुशी भएका छन् ।