मालिकार्जुन मन्दिरमा आयोजना हुने शिवपुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवका लागि राष्ट्रपति पौडेललाई निम्तो
दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका-३ मा अवस्थित, देशका सात धाममध्ये एक धामका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकार्जुन मन्दिरमा आयोजना हुने शिवपुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवका लागि प्रमुख अतिथि आमन्त्रण गर्न दार्चुलाको सर्वदलीय तथा सर्वपक्षीय प्रतिनिधिमण्डल राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवास पुगेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूको नेतृत्वमा शीतल निवास पुगेको प्रतिनिधिमण्डलले महायज्ञ तथा महोत्सवको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वबारे जानकारी गराउँदै राष्ट्रपतिलाई प्रमुख अतिथिका रूपमा उपस्थितिका लागि औपचारिक आमन्त्रण गरेको हो ।
प्रतिनिधिमण्डलमा पूर्वमन्त्री एवं एमाले नेता गणेश सिंह ठगुन्ना, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश सांसद मानबहादुर धामी, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, कांग्रेस नेता जगदिश बहादुर पाल, कांग्रेस नेता तथा आयोजक समितिका सह–संयोजकद्धोय नरेन्द्र सिह धामी र किसनसिंह सामन्त लगायत सहभागी थिए । राष्ट्रिय धाम मालिकार्जुनमा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव आयोजना हुदैँछ । महायज्ञ अवधिभर शिवपुराण वाचन, धार्मिक प्रवचन, भजन–कीर्तन तथा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।

