दार्चुला । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट धर्मानन्द जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जिल्ला कार्यसमितिले सिफारिस गरेका चार जना नेतामध्ये केन्द्रीय नेतृत्वले जोशीको नाममा अन्ततः सहमति जुटाएको हो। कांग्रेस दार्चुलाका पार्टी सभापति ललित सिंह बोहराका अनुसार जोशीको अन्तर्राष्ट्रिय अनुभव, कानुनी ज्ञान र समाजसेवामा देखाएको सक्रियताले उनलाई उम्मेदवारका रूपमा अघि सारिएको हो।
धर्मानन्द जोशीको जन्म वि.सं. २०३२ सालमा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ पपरथलामा भएको हो। स्वर्गीय बुबा विष्णुदत्त जोशी र आमा तुलशी देवी जोशीका माइला छोरा जोशी सामान्य पारिवारिक पृष्ठभूमिबाट संघर्ष गर्दै यहाँसम्म आइपुगेका नेता हुन्। बाल्यकालदेखि नै अध्ययनशील, अनुशासित र सामाजिक चेतनाले भरिएका जोशीले शिक्षा र निरन्तर मेहनतलाई जीवनको मूल आधार बनाउँदै अगाडि बढेको स्थानीयहरू बताउँछन्।
जोशीको पहिचान केवल राजनीतिसँग सीमित छैन। उनको पेशागत र अन्तर्राष्ट्रिय अनुभवलाई कांग्रेसभित्र उनको मुख्य बलियो पक्षका रूपमा हेरिएको छ। उनले संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गत मानव अधिकारको क्षेत्रमा करिब १५ वर्षसम्म काम गरेको अनुभव हासिल गरेका छन्। मानव अधिकार, सुशासन, समावेशी विकास र सामाजिक न्यायका विषयमा प्रत्यक्ष रूपमा काम गरेका कारण उनी नीति निर्माण र कार्यान्वयन दुवै पक्षमा दक्ष रहेको कांग्रेस नेताहरूको भनाइ छ।
अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्नु अघि र पछि पनि जोशीले नेपालमै कानुनी क्षेत्रमा योगदान दिएका छन्। उनले करिब पाँच वर्ष अधिवक्ताका रूपमा काम गर्दै नागरिकका कानुनी समस्या, अधिकार संरक्षण र न्यायमा पहुँचका विषयमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विशेषगरी ग्रामीण भेगका सर्वसाधारण, गरिब, विपन्न र पीडित समुदायलाई कानुनी परामर्श र सहयोग पुर्याएको अनुभव उनीसँग छ, जसले उनलाई जनताको नजिकको नेताका रूपमा चिनाएको छ।
राजनीतिसँगै समाजसेवामा पनि जोशी निरन्तर सक्रिय रहँदै आएका छन्। प्राकृतिक विपत्ति, आगलागी, रोग–व्याधि वा आर्थिक संकटमा परेका धेरै परिवारलाई उनले व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्दै आएका छन्। “दुःखमा परेकालाई साथ दिनु नै साँचो राजनीति हो” भन्ने मान्यताका साथ जोशीले आफ्नो समय, सीप र स्रोत समाजका लागि उपयोग गर्दै आएको स्थानीयहरू बताउँछन्।
शिक्षा क्षेत्रमा उनको योगदान विशेष रूपमा उल्लेखनीय मानिन्छ। वि.सं. २०७९ सालमा उनले शैल्यशिखर नगरपालिका वडा नम्बर ८ स्थित गलैनाथ माध्यमिक विद्यालय झरकडा र लेकम गाउँपालिकाको हुनैनाथ माध्यमिक विद्यालय रातामाटामा जनही ११/११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। दुर्गम क्षेत्रका विद्यार्थीलाई निरन्तर शैक्षिक सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको उक्त अक्षयकोषलाई स्थानीय शिक्षा क्षेत्रका लागि दीर्घकालीन लगानीका रूपमा हेरिएको छ।
नेपाली कांग्रेस दार्चुलाभित्र उम्मेदवार छनोटका क्रममा पुस्तान्तरण, भिजन र जित्ने सम्भावनालाई मुख्य आधार बनाइएको बताइन्छ। पूर्वमन्त्री तथा केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेस दार्चुलामा नयाँ अनुहारको खोजी तीव्र बनेको थियो। सोही सन्दर्भमा जोशीलाई अनुभवी तर नयाँ सोच भएका नेताका रूपमा अघि सारिएको हो।
कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जोशीसँग स्पष्ट भिजन, नीति र योजनाहरू रहेको भन्दै आगामी निर्वाचनमा राम्रो मत ल्याउने आकलन गरिएको बताए। “अन्तर्राष्ट्रिय अनुभव, कानुनी पृष्ठभूमि र स्थानीय समाजसेवाको संयोजन जोशीको मुख्य शक्ति हो,” बोहराले भने, “उहाँले दार्चुलाको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा स्पष्ट खाका प्रस्तुत गर्न सक्नुहुन्छ भन्ने विश्वास केन्द्रले गरेको छ।”
जोशी स्वयं पनि दार्चुलाको समग्र विकासलाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको बताउँछन्। उनका अनुसार दार्चुला जस्तो दुर्गम जिल्लामा शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र मानव अधिकारका मुद्दालाई एकसाथ अघि बढाउन आवश्यक छ। “मेरो अनुभव र ज्ञान दार्चुलाका जनताको सेवामा लगाउने प्रतिबद्धता छ,” उनले भनेका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दार्चुलाको राजनीतिक माहोल तातेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले धर्मानन्द जोशीलाई उम्मेदवार बनाएपछि कांग्रेस समर्थकहरू उत्साहित देखिएका छन्। अन्तर्राष्ट्रिय अनुभव र स्थानीय जरो भएको नेतृत्वले दार्चुलाको आवाज संघीय संसदमा बलियो रूपमा उठाउने अपेक्षा गरिएको छ।