दार्चुला । पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँचजनाको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्।
बिहीबार रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँचजना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्। पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ। तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो।
यस्तै‚ कुश्मा नगरपालिका–११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठूलीमाया थापाको मृत्यु भएको छ।
जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ।