पत्रकारिताको जोखिमपूर्ण यात्रा र हाम्रो सामूहिक जिम्मेवारी

मैले पत्रकारिताको यात्रा सुरु गरेको झण्डै दुई वर्ष हुन लाग्यो। समयको हिसाबले यो अवधि छोटो देखिए पनि यस अवधिमा मैले समाजका धेरै अनुहार देख्ने, धेरै पीडा भोग्ने र धेरै पाठ सिक्ने अवसर पाएँ। पत्रकारिता केवल समाचार लेख्ने पेशा होइन, यो सत्यको खोजी गर्ने, आवाजविहीनको आवाज बन्ने र गलत प्रवृत्तिका विरुद्ध उभिने साहसिक जिम्मेवारी हो। यही जिम्मेवारी पूरा गर्ने क्रममा पत्रकारले अनेक चुनौती, आलोचना र जोखिमको सामना गर्नुपर्छ।
सत्य बोल्दा पनि आज कतिपय मानिसहरू गलत आरोप लगाउन पछि पर्दैनन्। सही कुरा लेख्दा नियतमाथि प्रश्न उठाइन्छ, चरित्रमाथि आक्रमण हुन्छ। कसैलाई असफल बनाउन पछिपछि लाग्ने, बदनाम गर्ने र गालीगलौज गर्ने प्रवृत्ति समाजमा सामान्य जस्तै बन्दै गएको छ। तर सत्य बोल्नु अपराध होइन, बरु समाजप्रतिको सबैभन्दा ठूलो जिम्मेवारी हो। पत्रकारले सत्य नलेखे कसले लेख्छ ? गलतलाई गलत र सहीलाई सही भन्न सक्ने साहस हराए समाज अन्धकारतिर जान्छ।
आलोचना हुनु स्वाभाविक प्रक्रिया हो। तथ्य, तर्क र सभ्य भाषामा गरिने आलोचना आवश्यक मात्र होइन, सुधारको आधार पनि हो। तर दुःखको कुरा, आज विशेषगरी केही युवाहरू आलोचनाको नाममा अश्लिल, असभ्य र सहन नसक्ने शब्द प्रयोग गरेर एकअर्कामाथि खनिन थालेका छन्। सामाजिक सञ्जालमा देखिने यस्तो व्यवहार न चेतनाको परिचय हो, न जिम्मेवारीको। कसैले गल्ती गर्‍यो भन्दैमा उसलाई गिराउने, बदनाम गर्ने र चरित्र हत्या गर्ने सोचले समाजलाई झनै कमजोर बनाउँछ। सही तरिकाले गरिएको आलोचनाले सुधार ल्याउँछ, तर असभ्य भाषाले घाउ मात्र दिन्छ।
पत्रकारिता आफैंमा जोखिमपूर्ण यात्रा हो। सत्य लेख्दा धम्की आउँछ, प्रश्न उठाउँदा शत्रु बनाइन्छ। कहिलेकाहीँ आफ्नै नजिकका मानिसहरू पनि पराइ जस्तै देखिन थाल्छन्। यस्तो अवस्थामा पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी कसले लिन्छ भन्ने प्रश्न गम्भीर बन्दै गएको छ। सम्मान पाउनुपर्ने पेशामा गालीको वर्षा किन भइरहेको छ भन्ने विषयमा समाजले गहिरो आत्ममूल्यांकन गर्न जरुरी छ।
अर्कोतर्फ, पत्रकारिताप्रति जनविश्वास कमजोर हुनुका कारण पनि छन्। आज केही पत्रकारहरूले यो पेशालाई कमाइ खाने भाँडो बनाएका छन्। पैसामा बिक्ने, शक्ति र स्वार्थको पछि लाग्ने प्रवृत्तिले असल पत्रकारहरूको छवि पनि धुमिल बनाइदिएको छ। तर सबै पत्रकार उस्तै हुँदैनन्। आज पनि सत्य, इमान र जनपक्षीय पत्रकारितालाई जोगाइराख्न संघर्ष गरिरहेका पत्रकारहरू छन्। उनीहरूको आवाज सानो देखिए पनि नियत ठूलो छ, र त्यही नियतले समाजलाई उज्यालोतर्फ डोर्‍याइरहेको छ।
यी दुई वर्षमा मैले धेरै कुरा सिक्ने अवसर पाएँ। थोरै सिक्न सकेँ, अझै धेरै सिक्न बाँकी नै छन्। पत्रकारिता कुनै गन्तव्य होइन, यो निरन्तर सिकाइको यात्रा हो। हरेक घटना, हरेक पीडा र हरेक आवाजले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ। गल्तीबाट सिक्ने, आलोचनालाई पाठ बनाउने र आफूलाई सुधार्दै अघि बढ्ने प्रक्रिया नै पत्रकारिताको सौन्दर्य हो।
अहिले देश चुनावी माहोलतिर उन्मुख हुँदैछ। नेताहरू गाउँगाउँ पुगेका छन्, खुट्टा ढोगिरहेका छन्, मीठा सपना देखाइरहेका छन्। तर चुनाव जितेपछि वा हारेपछि ती नेताहरू गाउँमा किन देखिँदैनन् भन्ने प्रश्न सधैं उस्तै छ। गाउँघरका वास्तविक समस्या बुझ्नभन्दा पनि आफ्नो शक्ति प्रदर्शन गर्न गाउँ दौडधुप गर्ने प्रवृत्ति हावी छ। यस्तो अवस्थामा सही प्रश्न सोध्ने र जनतालाई सचेत गराउने दायित्व पत्रकारको काँधमा आउँछ।
अब हामीले सही मान्छे छान्नुपर्छ, जसले देशलाई साँच्चै माया गर्छ र देश बनाउने स्पष्ट सोच राख्छ। कसैले राम्रो काम गर्‍यो भने त्यसको प्रशंसा गर्दा ‘झोले’ भनिन्छ। कसैले गलत भइरहेको छ भनेर औंला उठाउँदा विरोधी वा दुश्मनको नजरले हेरिन्छ। तर पत्रकारको काम नै यही हो—सत्यतथ्यमा टेकेर गलतलाई गलत र सहीलाई सही भनेर समाज र देशका सामु छर्लङ्ग पार्नु।
आजका युवाहरूले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ। युवा भएर पनि भावनामा बगेर बोल्ने, बिना प्रमाण आरोप लगाउने र एकअर्काको खुट्टा तान्ने प्रवृत्तिले देश अघि बढ्न सक्दैन। समाज निर्माणका लागि सत्य बोल्नुपर्छ, राम्रो मान्छेलाई समर्थन गर्नुपर्छ र नराम्रो मान्छेलाई गाली होइन, बुझाउन र सुधारतर्फ लैजान प्रयास गर्नुपर्छ।
पत्रकारिता डरको होइन, दायित्व बोकेर हिँड्ने साहसिक यात्राको नाम हो। यो जोखिमपूर्ण यात्रामा मैले दुई वर्ष पार गरेको छु। आलोचना सहें, आरोप सहें, तर कलम छाडेको छैन। किनकि म दृढ विश्वास गर्छु—सत्य ढिलो जित्ला, तर कहिल्यै हार्दैन।

लेखक : पत्रकार नरेश प्रसाद जोशी

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.