दार्चुला । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा अन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ ।
आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । सवाँ, अपामार्ग, तील लगायतका वनस्पतीहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।
बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको छ । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ ।
बिरुडा र फलफूल सहित ब्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गरेका छन् ।
आज ब्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गरेर दिउँसो सामूहिक रुपमा गौरादेवी पूजाआज गर्ने गर्दछन् । विभिन्न सगुन र फागमार्फत गौरादेवीको पूजाआजा आराधना गर्दै बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको स्थानीय महिला हिरादेवी अवस्थीले बताइन् ।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्त गरेको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको उनको भनाई छ ।
दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । अमुक्ताभरण सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । सप्तमीका दिन नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ ।
तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ । यो बर्षको गौरा कृष्ण पक्षमा परेको छ । गाउँघरमा आजभोलि गौरा पर्वको रौनक छाएको छ । परदेशमा रहेकाहरु पनि गौराका लागि घर फर्केका छन् । बसाइँसराई गरेर गएकाहरु गौराका लागि थातथलोमा फर्केपछि गाउँघरमा चहलपहल बढेको छ ।
