शैल्य मल्लिकार्जुन राष्ट्रिय धाममा लाग्ने शिवपुरा महायज्ञको तयारी अन्तिम चरणमा

दार्चुला ।  शैल्य मल्लिकार्जुन राष्ट्रिय धाममालाग्ने शिवपुराण  महायज्ञ तथा धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।   हिन्दू धर्मावलम्बीहरूको आस्था, विश्वास र श्रद्धाको केन्द्रका रूपमा परिचित यस पवित्र धाममा यहीँ माघ २२ गतेदेखि फागुन ३ गतेसम्म शिवपुराण महायज्ञ सञ्चालन गरिने शिवपुराण महायज्ञ समितिले जानकारी दिएको छ।
समितिका अनुसार महायज्ञका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।धार्मिक अनुष्ठान सञ्चालनका लागि आवश्यक संरचना निर्माण, बसोबास, भोजन, सुरक्षा, सरसफाइ तथा व्यवस्थापनका सम्पूर्ण कार्यहरू लगभग पूरा भइसकेका छन्। भक्तजनलाई सहज र व्यवस्थित रूपमा महायज्ञमा सहभागी गराउने उद्देश्यले समितिले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ।
सनातन हिन्दू धर्मअनुसार शिवपुराणको विशेष धार्मिक र आध्यात्मिक महत्व रहेको छ। शिवपुराण श्रवण तथा वाचन गर्नाले आत्मिक शुद्धि, पाप नाश, मानसिक शान्ति तथा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ। यही धार्मिक मान्यतालाई आत्मसात गर्दै आयोजना गर्न लागिएको यस महायज्ञमा भारतको वृन्दावनबाट पाल्नु भएका बाल ब्रह्मचारी पूज्य श्री खगेन्द्रजी महाराज आचार्यज्यूद्वारा शिवपुराण कथा वाचन गरिनेछ। उहाँको सरल, भावपूर्ण र प्रेरणादायी प्रवचनले धर्मप्रति जागरण फैलाउने तथा भक्तजनलाई आध्यात्मिक अनुभूति प्रदान गर्ने अपेक्षा गरिएको छ।
महायज्ञ अवधिभर दैनिक रूपमा शिवपुराण कथा वाचन, रुद्री पाठ, विशेष पूजा–अर्चना, हवन, भजन–कीर्तन, आरती तथा विविध धार्मिक प्रवचन कार्यक्रमहरू सञ्चालन हुनेछन्। आयोजक समितिका अनुसार महायज्ञमा सहभागी भई श्रद्धापूर्वक कथा श्रवण गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ। साथै, यस्ता धार्मिक कार्यक्रमहरूले समाजमा नैतिक मूल्य, संस्कार र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
यस महायज्ञमा नेपाल राष्ट्रका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजजीको पनि विशेष उपस्थिति रहनेछ। उहाँको मुखारविन्दुबाट प्रवचन सुन्न पाउनु भक्तजनका लागि अत्यन्तै सौभाग्यपूर्ण अवसर हुने आयोजकहरूको भनाइ छ। उहाँको प्रवचनले धर्म, संस्कृति र अध्यात्मप्रति जनमानसमा थप चेतना जगाउने अपेक्षा गरिएको छ।

महायज्ञका अवसरमा देशका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतसहित विदेशबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको आगमन हुने अनुमान गरिएको छ। यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीय व्यापार, होटल, यातायात तथा कृषि उत्पादनको खपत बढ्ने भएकाले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
शिवपुराण महायज्ञ समितिले सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी महानुभाव तथा सर्वसाधारणलाई पवित्र श्री शैल्य मल्लिकार्जुन राष्ट्रिय धाममा उपस्थित भई यस ऐतिहासिक तथा पावन महायज्ञमा सहभागी भई पुण्य लाभ लिन हार्दिक आमन्त्रण गरेको छ।

Leave A Reply

Your email address will not be published.