दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुन मन्दिर मडमा लाग्ने विशाल जात्राको अवसरमा शैल्यशिखर नगरपालिकाले कार्तिक ३० गते र मंसिर १ गते नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादर बिष्टले बताउनुभयो ।
हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ । शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी बताउनुभयो ।
शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको यहाँका स्थानीयवासी बताउँछन् । मालिकार्जुन–३ मडस्थित भण्डारी घरदेखि भोली बाट सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ । यस वर्षको शिखर धामको दर्शन गर्न श्रद्धालु मालिकार्जुन पुगेका छन ।
शिखर धामको दर्शन गर्न सोमबार देखि नै अधिकांश जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु मालिकार्जुन गएका छन् । बर्सेनि हजारौँ श्रद्धालु भक्तजनले पूजन जात्रामा शिखर धामको दर्शन गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।
यो जात्रा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा मनाइन्छ । मालिकार्जुनबाट शुरु हुने जात्रा बिहानै शिखर धुरा पुगेर पूजापाठ गर्ने चलन छ । पूजापाठपछि उनीहरु पुनः मालिकार्जुन मन्दिरमा पुगेर जात्रा विर्सजन गर्ने गर्छन् । जिल्लाको सबैभन्दा ठूलो जात्रा शैल्यशिखर त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ।
