बैतडी । दशैं भन्नेबित्तिकै धेरै नेपालीको सम्झनामा पिङ आउँछ । गाउँदेखि सहरसम्म दशैंका बेला पिङ हाल्ने र खेल्ने चलन छ । तर सुदूरपश्चिमको बैतडीमा भने दशैंका बेला नयाँ पिङ हाल्ने चलन छैन । यहाँका भगवती मन्दिर परिसरमा रहेका पुरानै हिङ्लो दशैंको रौनकको माध्यम बन्ने गरेको छ ।
दशैं नजिकिँदै गर्दा देशका विभिन्न ठाउँमा पिङ हाल्ने तयारी सुरु हुन्छ । तर बैतडीमा भने पिङ हाल्नेभन्दा मन्दिर परिसरमा रहेका हिङ्लो सिँगार्ने र सञ्चालनका लागि तयार पार्ने गरिन्छ । वर्षौंदेखि मन्दिर परिसरमा रहेका हिङ्लो दशैंका बेला विशेष रूपमा प्रयोगमा आउने गर्छन् ।
हिङ्लो दुईतिर गाडिएका काठका बलिया खाँबामा फलामका सिक्री झुन्ड्याएर बनाइएको ठूलो झुलाजस्तो संरचना हो । सामान्य पिङमा डोरी वा रस्सी प्रयोग हुने भए पनि हिङ्लोमा काठका संरचना र फलामका सिक्री प्रयोग गरिन्छन् । मन्दिरमा पूजा तथा मेला लाग्ने समयमा भक्तजन र स्थानीयले यही हिङ्लोमा पिङ खेल्छन् ।
तर हिङ्लो पनि जिल्लामा रहेका प्रमुख पाँच भगवतीको मन्दिर परिसरमा मात्रै रहेकोले यहाँ स्थानीयहरूले दशैंको समयमा पिङ खेल्ने परम्परा छैन ।
बैतडीमा दशैं–तिहारको समयमा पिङ खेल्ने चलन रहेको पाइँदैन । हिङ्लो भएका मन्दिरमा भने दशैंका बेला यसको प्रयोग पिङ खेल्नका लागि हुने गरेको छ । अन्य ठाउँमा दशैंको पहिचानसँग पिङ जोडिए पनि बैतडीमा भने भगवती मन्दिरका हिङ्लोले दशैंको छुट्टै सांस्कृतिक पहिचान बोकेको छ ।
बैतडीका भगवती मन्दिरमा रहेका हिङ्लो दशैंका बेला मात्रै प्रयोग हुने भने होइनन् । अन्य समयमा पनि यसको प्रयोग गर्न सकिन्छ । तर दशैंमा मन्दिरमा पूजाआजा र मेला लाग्ने भएकाले हिङ्लोमा पिङ खेल्नेको चहलपहल बढ्छ । मन्दिरमा आउने भक्तजनका लागि हिङ्लो दशैंको धार्मिक वातावरणसँग जोडिएको मनोरञ्जनको माध्यमसमेत बन्दै आएको छ ।
दशैंअघि हिङ्लोका काठ तथा फलामका सिक्रीको अवस्था जाँच गर्ने, सरसफाइ गर्ने र आवश्यकताअनुसार रङरोगन गर्ने काम हुन्छ । दशैंका बेला धेरै मानिसले प्रयोग गर्ने भएकाले हिङ्लोको सुरक्षा र मजबुतीलाई विशेष ध्यान दिने गरिएको त्रिपुरासुन्दरी भगवती मन्दिरका पुजारीहरू बताउँछन् ।
बैतडीका निङ्लासैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलासैनी र कफलासैनी भगवती मन्दिरमा हिङ्लो राख्ने गरिन्छ । दशैंका बेला यी मन्दिरमा लाग्ने मेला तथा धार्मिक कार्यक्रममा हिङ्लोमा पिङ खेल्ने चलन रहेको स्थानीय दिनेश भट्ट बताउँछन् ।
दशरथचन्द नगरपालिका–२, देहीमाडौँस्थित निङ्लासैनी भगवती मन्दिरमा पनि हिङ्लो राख्ने गरिन्छ । सुदूरपश्चिमका सात भगवती बहिनीका मन्दिरमा हिङ्लो राख्ने परम्परा रहेको छ । बैतडीका पाँच मन्दिरबाहेक डडेल्धुराको उग्रतारा र डोटीको शैलेश्वरी भगवती मन्दिरमा पनि हिङ्लो रहेको छ ।
हिङ्लो राख्ने परम्परा १४ औँ शताब्दीतिर स्थापना भएका भगवती मन्दिरसँगै सुरु भएको मानिन्छ । मन्दिर परिसरमा स्थायी रूपमा राखिने हिङ्लो दशैंका बेला विशेष रूपमा प्रयोगमा आउने गरेको स्थानीय रमेश लेखक बताउँछन् ।
हिङ्लो निर्माणका लागि स्थानीय स्रोतको मात्रै प्रयोग गरिन्छ । बैतडीको महारुद्र क्षेत्रमा रहेका फलाम खानीबाट फलाम निकालेर स्थानीय लोहार समुदायका कालीगढले हिङ्लोका लागि फलामका सिक्री बनाउने गरेका छन् । हिङ्लो बलियो र सुरक्षित हुने तथा स्थानीय कालीगढको सीप प्रयोग हुने भएकाले यसले पुरानो सामाजिक जीवनको झल्को दिने स्थानीय आनन्द भट्ट बताउँछन् ।
बैतडीको दशैंमा पिङभन्दा भगवती मन्दिरको पूजा, मेला, टीका–जमरा र पारिवारिक जमघटको महत्व बढी देखिन्छ । घटस्थापनादेखि नै जिल्लाका विभिन्न भगवती तथा शक्तिपीठमा पूजाआजा सुरु हुन्छ । दशैंका बेला टाढाटाढाबाट श्रद्धालु मन्दिर पुग्ने गर्छन् ।
निङ्लासैनी, त्रिपुरासुन्दरी, डिलासैनी, मेलौली र काफलासैनी लगायतका मन्दिरमा दशैंका अवसरमा विशेष पूजा हुने गर्छ । यी भगवती मन्दिरमा राँगा तथा बोकाको बलि दिने परम्परा पनि छ । पूजाआजासँगै स्थानीय बाजागाजा, भजनकीर्तन र मेलाले मन्दिर क्षेत्रको चहलपहल बढाउँछ ।
धानलगायतका बाली भित्र्याउने र हिउँदका लागि पशुचौपायालाई आवश्यक घाँसको जोहो गर्ने समय पनि यही भएकाले दशैंसँगै गाउँमा कामको चटारो हुने गर्छ । धार्मिक र सांस्कृतिक गतिविधिसँगै कृषि र पारिवारिक जीवन पनि बैतडीको दशैंसँग जोडिएको छ ।
यसरी अन्य ठाउँमा पिङसँग जोडिएको दशैं बैतडीमा भने भगवती मन्दिरका हिङ्लो र स्थानीय परम्परासँग जोडिँदै आएको छ । पुराना हिङ्लो जीर्ण हुँदै गएपछि काठ फेर्ने र पुन:निर्माण गर्ने क्रमले शताब्दीयौँ पुरानो परम्परालाई निरन्तरता दिइरहेको छ । यसले स्थानीय संस्कृतिको पहिचान समेत बोकेको स्थानीय जानकारहरूको भनाइ छ ।
