दार्चुलाको हुति गाउँको अनौठो हरिण जात्रा

दार्चुला । हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको अद्भुत सांस्कृतिक परम्परा ‘हरिण जात्रा’ सुदूरपश्चिमको एक विशिष्ट पहिचान हो।

सुदूरपश्चिमको दार्चुलास्थित ब्यास गाउँपालिका–६, हुति गाउँमा हरेक वर्ष विजयादशमी अर्थात् टीकाको दिन मनाइने यो जात्रा केवल उत्सव मात्र होइन; इतिहास, अध्यात्म, लोकविश्वास र नेपाली मौलिक संस्कृतिको जीवन्त दस्ताबेजसमेत हो।

हरिण जात्राको दिन करिब एक किलोमिटर टाढाबाट तीन जना व्यक्तिलाई कलात्मक ढङ्गले शृङ्गार गरी हरिणको स्वरूप दिइन्छ। स्थानीय महिला, पुरुष तथा वृद्धवृद्धाहरू मौलिक वेशभूषामा सजिएर दमाहा बाजाको तालमा नाच्दै र गाउँदै अघि बढ्छन्।

उल्लास, उमङ्ग र धार्मिक श्रद्धाले भरिएको यो सांस्कृतिक यात्रा नौलाकेदार अर्थात् दुर्गा भवानीको मन्दिर प्राङ्गणमा पुगेर समापन हुन्छ। प्रकृति, देवता र मानव समुदायबीचको सम्बन्धलाई जीवन्त बनाउने यो दृश्यले जोकोहीलाई आकर्षित गर्छ। हरिण जात्रा कहिलेदेखि सुरु भयो भन्ने यकिन ऐतिहासिक प्रमाण भने उपलब्ध छैन।

तर स्थानीय समाजसेवी ८० वर्षीय प्रेमसिंह कुँवरका अनुसार यो परम्परा निकै पुरानो हो। जात्राको उत्पत्तिबारे स्थानीय समाजमा विभिन्न किंवदन्ती, जनश्रुति र धार्मिक मान्यताहरू प्रचलित छन्। जनश्रुतिअनुसार, नौला देवता अर्थात् भगवती आफ्नो अधिकार र परिचय स्थापित गर्न हरिणमा सवार भएर हुति गाउँस्थित ब्रह्ममाण्डौंमा विराजमान ब्राह्मणी देवीको शरणमा पुगेकी थिइन्।

त्यसपछि उनलाई गाउँमै बस्ने स्थान दिइयो र दसैँको दशमीका दिन भोग दिने वाचा गरियो। यही धार्मिक विश्वाससँग जोडिएर हरिण जात्राको परम्परा सुरु भएको स्थानीय जनविश्वास छ।

अर्को किंवदन्तीले यस क्षेत्रको भूगोल र विगतको विपत्तिसँग जात्रालाई जोड्छ। हुति गाउँस्थित ब्रह्ममाण्डौंदेखि चन्दाकोटसम्म लामो मानव बस्ती रहेको र कुनै समय आएको ठुलो पहिरोपछि अनिकाल, भोकमरी तथा रोगव्याधिको प्रकोप फैलिएको जनश्रुति छ। महाकाली नदीको माथिल्लो भेगमा पहिरोका कारण विस्थापित भई बसेको बस्तीलाई आज पनि ‘बसेडी’ भनिन्छ।

यी किंवदन्तीको ऐतिहासिक सत्यता थप अध्ययन र अनुसन्धानको विषय हो। तथापि, यिनले स्थानीय समाजको सामूहिक स्मृति, धार्मिक चेतना र प्रकृतिसँग जोडिएको जीवनदर्शनलाई उजागर गर्छन्।

घटस्थापनादेखि नवरात्रभर स्थानीय धामीझाँक्री, पुजारी तथा महिला–पुरुष व्रत बसेर देवीको कथा वाचन गर्ने र रातभर जाग्राम बस्ने परम्परा छ। दसैँको दिन घरमा ठुलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण गरेपछि मीठा परिकार खाएर स्थानीय बासिन्दाहरू दिउँसो करिब ३–४ बजेतिर नौलाकेदार मन्दिरको प्राङ्गणमा भेला हुन्छन्, त्यसपछि सुरु हुन्छ हरिण जात्राको रौनक।

टाढा–टाढाबाट आएका आगन्तुकसमेत यो अनौठो दृश्य देखेर आश्चर्यचकित हुन्छन्। उनीहरू स्थानीयसँगै नाचगानमा सहभागी भई रमाउँछन्। नेपालका साथै महाकालीपारि भारतको उत्तराखण्ड राज्यस्थित जुमालगायतका गाउँबाट समेत मानिसहरू जात्रा हेर्न र मेला भर्न आउने परम्परा छ।

महाकाली नदीले दुई देशको भूगोल छुट्याएको छ; तर यस क्षेत्रका मानिसको सांस्कृतिक सम्बन्ध, धार्मिक आस्था र सामाजिक आत्मीयतालाई भने छुट्याउन सकेको छैन। हरिण जात्रा त्यसैको जीवन्त उदाहरण हो।

काठमाडौँबाट करिब एक हजार किलोमिटरको दूरीमा रहेको दार्चुलाको ब्यास गाउँपालिका–६, हुति प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र सांस्कृतिक विविधताले सम्पन्न छ। नौलामाण्डौं मन्दिर जिल्ला सदरमुकामबाट करिब १४ किलोमिटरको दूरीमा छ।

यस क्षेत्रको शिरमा मालिकार्जुन मन्दिर र प्रसिद्ध पर्यटनस्थल दाम्दाकोट अवस्थित छन्। नजिकैको सुन्दर रानी–गैरीबन क्षेत्रको बीचमा सरस्वती मन्दिर तथा हिमालय माध्यमिक विद्यालय छन्। तलको विशाल टारमा जिल्लाकै प्रसिद्ध ब्रह्ममाण्डौंस्थित ब्राह्मणी देवीको मन्दिर रहेको छ।

दक्षिणतर्फ भारतको जुमागाउँ छ भने हुति र जुमागाउँको फेद हुँदै महाकाली नदी आफ्नै बेगमा बगिरहेकी छिन्।

कैलाश मानसरोवर तथा कालापानी–लिपुलेकतर्फ जाने मार्गसँग जोडिएको यस क्षेत्रको भौगोलिक र सामरिक महत्त्वसमेत छ। यहाँको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र मौलिक संस्कृतिलाई एकीकृत रूपमा प्रवद्र्धन गर्न सके दार्चुलाको पर्यटन विकासमा नयाँ सम्भावनाका ढोका खुल्न सक्छन्।

दसैँको टीकाकै दिन यसरी हरिणको स्वरूप धारण गराई दमाहा बाजासहित सामूहिक नाचगान गरेर मनाइने यस्तो प्रकृतिको जात्रा अन्यत्र नभएको लेखक तथा डकुमेन्ट्रीमेकर राजेन्द्र कुँवर बताउँछन्।

कुँवर भन्छन्, ‘पुस्तौँदेखि स्थानीय समुदायले आफ्नै आस्था, श्रम र समर्पणबाट जोगाउँदै आएको हरिण जात्रालाई अब स्थानीय सीमाभित्र मात्र सीमित राख्नु हुँदैन। स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड, पुरातत्त्व विभाग तथा सांस्कृतिक अनुसन्धानमा संलग्न संस्थाहरूले यसको अध्ययन, दस्तावेजीकरण, प्रचारप्रसार र संरक्षणमा सहकार्य गर्न आवश्यक छ।’

जात्राको मौलिकता नबिगारी यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षको अनुसन्धान गर्न सकियो भने यो दार्चुलाको मात्र होइन, समग्र नेपालकै सांस्कृतिक पहिचान बन्न सक्ने उनी बताउँछन्।

व्यवस्थित प्रचारप्रसार, सुरक्षित पर्यटन पूर्वाधार र स्थानीय समुदायको नेतृत्वमा गरिने प्रवद्र्धनले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्‍याउन सक्छ।

स्थानीय समुदायले आजसम्म जोगाएको यो सांस्कृतिक धरोहरलाई राज्यले पनि आफ्नो साझा सम्पदा ठानेर संरक्षण र प्रवद्र्धन गर्न सके साँच्चै सुनमा सुगन्ध थपिनेछ।रातोपाटी

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.