बैतडीमा कार्यरत एक जना निर्वाचन प्रहरीको निधन भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वड रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहका अनुसार शुक्रबार दिउँसो खाना खान घर गएका वड घरमै अचेत अवस्थामा भेटिएका थिए।
परिवारले अचेत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो। तत्पश्चात उनलाई तत्काल जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो। तर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका निरीक्षक सिंहले जानकारी दिए।
सदरमुकाम नजिकै घर रहेका वड निर्वाचन ड्युटी सकेर प्रायः घरमै खाना खान जाने गर्थे। घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
हाल शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ भने शनिबार पोस्टमार्टम गरिने बताइएको छ।