दार्चुलाका दुर्गम क्षेत्रका मतपेटिकाहरू हेलिकोप्टर मार्फत ढुवानी गरिने

दार्चुला । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानपछि मतपेटिका हेलिकप्टरमार्फत ल्याउने गरि गृहकार्य थालिएको छ । दार्चुलाका दुर्गम क्षेत्रका मतपेटिकाहरू हेलिकोप्टर मार्फत ढुवानी गर्ने गरि तयारी थालिएको हो ।

दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी हुने भएको छ । व्यास गाउँपालिका वडा नम्बर २ मा रहेका शिरसिन्धार आधारभूत विद्यालय बोधगाउँ, सर्वहित आधारभूत विद्यालय दुम्लिङ तथा रानीस्थान आधारभूत विद्यालय मालको मतपेटिका हेलिकप्टरबाट ल्याउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए ।

यस्तै अपि हिमाल गाउँपालिका वडा नमवर ३ को हिमालय आधारभूत विद्यालय पाथा, वडा नम्बर २ को भवानी आधारभूत विद्यालय सिती, अपि हिमाल गाउँपालिका–४ को खण्डेश्वरी माध्यमिक विद्यालय क्षत्ति र वडा नम्बर ६ को महिला सामुदायिक भवन सितोलाको मतपेटिका हेलिकप्टरमार्फतबाट ल्याउने निर्णय गरिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा मतपत्र ढुवानी, आचारसंहिता पालना सम्बन्धी राजनीतिक दलहरूसँग भएको बैठकमा उक्त निर्णय गरिएको छ । यहाँका सात वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टर मार्फत ढुवानीका लागि गृह मन्त्रालयमा लेखी पठाइएको तथा सानो हेलिकोप्टर प्राप्त हुने जानकारी प्राप्त भएको भन्दै उनले मतपेटीका र मतदान अधिकृतलाई हेलिकोप्टर मार्फत ल्याउने विषयमा बैठकमा पार्टीको प्रतिनिधिहरूले समेत सहमति जनाए ।

निर्वाचनमा मतदातालाई शान्तिपूर्ण रूपमा गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन् । मतदानको दिन सबै राजनीतिक दलका तोकिएका आधिकारिक प्रतिनिधिहरूले मतदान केन्द्रमा सहयोग गर्ने र मतदान प्रक्रियालाई बाधा पुग्ने गरी प्रचारप्रसार नगर्ने, तथा मतदान अधिकृत र सुरक्षाकर्मीलाई पूर्णरूपमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन्।
मतदानको दिन मतदान केन्द्रमा कुनै विवाद वा असहमति उत्पन्न भएमा, त्यसलाई तत्कालै सम्बन्धित मतदान अधिकृत र उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूबिचको आपसी छलफल र सहमतिमा समाधान गर्ने, मतदान कार्यलाई कुनै पनि बहानामा स्थगित हुन नदिन र कानुनी प्रक्रिया भित्र रहेर समस्या सुल्झाउन सबै पक्ष सहमत रहने निर्णय गरिएको उनले बताए ।
बैठकमा नेकपा एमालेका उमेशराज जोशी, नेपाली कांग्रेसका पुलेन्द्रबहादुर कार्की, राप्रपाका देवबहादुर बम, रास्वपाबाट परमानन्द बडू, नेपाली कम्युनिस्ट पार्टीका गणेशसिंह खत्री र नेपाल कम्युनिस्ट पार्टी संयुक्तका शेखरचन्द्र बडू सहभागी थिए। एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा ११ दलका उम्मेदवारले उम्मेदवारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.