दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम, कति छन् अस्थाई मतदाता ?

दार्चुला । दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएका छन् । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा मतदान गर्नका लागि दुई अस्थायी मतदान केन्द्र कायम गरिएका हुन् ।

अस्थायी मतदान केन्द्रमार्फत कैदीबन्दी र निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले मतदान गर्न पाउनेछन् । कैदीबन्दीहरुका लागि जिल्ला कारागार र अन्य कर्मचारीहरुका लागि घरेलु तथा साना उद्योग कार्यालयको भवनमा अस्थायी मतदान केन्द्र स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए ।

दार्चुला कारागारका २३ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्लामा १ हजार ५ सय ८५ जना अस्थायी मतदाता रहेका छन् । दार्चुलाका निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले घरेलु तथा साना उद्योग कार्यालय परिसर भित्र स्थापना गरिने अस्थायी मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ११२ मतदान स्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा ९२ हजार ९४८ जना मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र सफल रूपमा सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले आवश्यक सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.