अपिहिमालका छविस,झुस्कु चौडका स्थानीयबासी भन्छन् : यसपटक मतदान गर्दैनौं

दार्चुला । अपिहिमाल गाउँपालिका–३ अन्तर्गत दार्चुलाकै सबैभन्दा दुर्गम बस्ती छविस,झुस्कु चौडका बासिन्दाले २१ फागुनमा हुने निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् ।
गाउँमा आयोजित विभिन्न चरणको भेलाबाट कुनै पनि राजनीतिक दललाई मत नदिने तथा मतदान गतिविधिमा पनि सहभागी नहुने निर्णय गरिएको हो । राजनीतिक दलले पटकपटक गरेका प्रतिबद्धता पूरा नगरेपछि त्यहाका नागरिकहरु निराश भएका छन् ।

‘सबैको सल्लाहअनुसार यसपटक मतदानमा सहभागी हुँदैनौँ ।’ समितिका अध्यक्ष लालसिह धामी भन्छन् अहिलेसम्म हामी सबै एकजुट भएर लागेका छौं । संघर्ष समितिको निर्णयलाई आवश्यक सहयोग सबै नागरिकले गर्ने प्रतिबद्धता गरेका छन् । स्थानीयका अनुसार विकासका नाममा वर्षौंदेखि उपेक्षित यो क्षेत्रमा अहिलेसम्म सडक सुविधा पुगेको छैन । पैदल मार्गसमेत व्यवस्थित छैन । दलहरूले गरेका आश्वासन व्यवहारमा नदेखिएपछि बाध्य भएर निर्णय गर्नुपरेको उनीहरूको भनाइ छ ।

त्यहाँका स्थानीयले वडा विभाजनको माग सम्बोधन नभएसम्म कुनैपनि निर्वाचनमा सहभागी नहुने भन्दै चेतावनी दिएका छन् । स्थानीयको भेलाले त्यहाँको भवानी आधारभुत विद्यालयमा राखिएको मतदान केन्द्रमा मतदान नगर्ने निर्णय गरिएको छ । यो संगै गाउँपालिकाको वडा नं ३ अन्तरर्गत पर्ने छविस,झुस्कु चौडका करिब ११५ घरधुरीका स्थानीयहरुले आसन्न निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् ।

वडा सीमांकन र विभाजन स्पष्ट नहुँदा लामो समयदेखि प्रशासनिक तथा सेवा प्रवाहमा समस्या भोग्दै आउनु परेको उनीहरूको गुनासो छ। वडा कार्यालयसम्म पुग्न एकतर्फी चार घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने बाध्यता, भौगोलिक विकटता तथा आवत–जावतको कठिनाइका कारण आधारभूत सेवा लिनसमेत समस्या भइरहेको भन्दै वडा विभाजन प्रमुख माग रहेको स्थानीयले बताएका छन्।

Leave A Reply

Your email address will not be published.