दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं- ३ दुधिलास्थित झुक्सु मतदान केन्द्रमा बिहीबार स्थानीयको एक मत पनि नखसी मतदान सकिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदानमा सो क्षेत्रका स्थानीयले बहिष्कार गरेका हुन् ।
स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका कारण अस्थायी मतदाता अर्थात् निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरेका हुन् ।
मतदानका लागि ८ जना कर्मचारीले मात्रै मतदान गरेर मटपेटिका सिल गरिएको छ । उक्त मतदान केन्द्रमा ३४६ जना मतदाता रहेका थिए । त्यहाका स्थानीयहरु वडा विभाजनको मागसहित नो भोट अभियानमा उत्रिएका छन् ।
छविस, झुस्कु र चौड क्षेत्रका स्थानीयले मतदान बहिष्कार गरेपछि मतदान प्रभावित भएको छ । स्थानीयहरुको पूर्वघोषित निर्णय अनुसार मतदानमा सहभागी नहुँदा केन्द्र सुनसानजस्तै देखिएको थियो । मतदान केन्द्रमा खटिएका कर्मचारीका अनुसार सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ मात्रै ८ मत खसेको बताएका छन् ।