चौथो ‘चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी’ जेठ १२–१३ गते गोकुलेश्वरमा हुने

दार्चुला । गंगा दशहरा पर्वको पावन अवसरमा चौथो संस्करणको ‘चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी–२०८३’ आगामी जेठ १२ र १३ गते गोकुलेश्वर स्थित चर्मण्वती (चमेलिया) नदी तटमा आयोजना हुने भएको छ ।

नेपाल र भारतका एक सयभन्दा बढी साहित्यकार, स्रष्टा तथा विद्वानहरूको सहभागिता रहने यस सम्मेलनले दुई देशबीचको साहित्य, भाषा, कला, संस्कृति, वेशभूषा र सभ्यतागत सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा आयोजकले गरेको छ ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनसँगै मौलिक भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्ने, साथै चर्मण्वती नदीको स्वच्छता र ऐतिहासिक–पुरातात्त्विक सम्पदाको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य सम्मेलनले लिएको छ ।

डिलाशैनी गाउँपालिकाको प्रवद्र्धनमा विगत तीन संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । आयोजकका अनुसार अघिल्ला संस्करणहरूमा नेपाल र भारतका करिब तीन सय साहित्यकार तथा स्रष्टाहरूको सहभागिता रहिसकेको छ ।

पछिल्ला वर्षहरूमा प्राप्त उत्साह र सफलतालाई निरन्तरता दिँदै यस वर्ष चौथो संस्करण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सफल बनाउन निरन्तर सहयोग गर्दै आएका स्थानीय तह, सरोकारवाला निकाय तथा साहित्यप्रेमी सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

आयोजकले सम्मेलनमा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण साहित्यप्रेमी, स्रष्टा तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.