नेपाली नागरिकले अब भारत भ्रमणका क्रममा आफ्नै मोबाइलबाट क्यूआर कोड स्क्यान गरी वस्तु तथा सेवाको भुक्तानी गर्न पाउने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सम्पन्न भएलगत्तै नेपाल र भारतका भुक्तानी सेवा प्रदायक निकायबीच एक महिनाभित्र यस्तो सेवा सञ्चालनमा ल्याउने समझदारी जुटेको हो।
नेपालको फोनपे र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) का उच्च अधिकारीबीच सोमबार र मंगलबार भएको छलफलमा आवश्यक प्राविधिक तथा नीतिगत प्रक्रिया पूरा गरी सेवा सञ्चालनमा ल्याउने समझदारी भएको हो।
छलफलमा सहभागी एक अधिकारीका अनुसार दुवै देशमा क्यूआर भुक्तानीका लागि आवश्यक प्राविधिक पूर्वाधार तयार भइसकेका छन्।
नेपाल र भारतबीच डिजिटल भुक्तानी आदानप्रदान गर्ने सम्बन्धमा २०८० जेठमै सैद्धान्तिक सम्झौता भएको थियो। त्यसबेला एनपीसीआईले व्यक्ति–व्यक्ति कारोबारका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र व्यक्ति–व्यापारी भुक्तानीका लागि फोनपेसँग सम्झौता गरेको थियो।
हाल भारतीय नागरिकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा रहे पनि नेपाली नागरिकले भारतमा यस्तो सुविधा पाएका छैनन्। नयाँ समझदारी कार्यान्वयनमा आएपछि अन्तरदेशीय क्यूआर भुक्तानी दुवैतर्फ खुला हुनेछ।
यसबाट भारत जाने नेपाली नागरिकलाई भारतीय रुपैयाँ सटही गर्नुपर्ने तथा ठूलो परिमाणमा नगद बोक्नुपर्ने बाध्यता कम हुनेछ।
हाल नेपालका १२ वटा बैंक र भारतका १८ वटा बैंक तथा वित्तीय संस्था अन्तरदेशीय बैंकिङ कारोबार प्रणालीमा आबद्ध छन्। विद्यमान व्यवस्थाअनुसार नेपालमा रहेका भारतीय नागरिकले मोबाइल बैंकिङ वा कनेक्ट आईपीएसमार्फत प्रतिकारोबार १५ हजार र मासिक एक लाख भारतीय रुपैयाँसम्म भारत पठाउन सक्छन्। भारतबाट नेपालको बैंक खातामा प्रतिकारोबार दुई लाख भारतीय रुपैयाँसम्म पठाउन सकिने व्यवस्था छ।
त्यस्तै, नेपाली बैंकले जारी गरेका कार्डमार्फत भारतका एटीएमबाट दैनिक १५ हजार र मासिक एक लाख भारतीय रुपैयाँसम्म नगद झिक्न सकिन्छ। क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएपछि नेपाल र भारतबीचको डिजिटल वित्तीय कारोबार थप विस्तार हुने अपेक्षा गरिएको छ।