दार्चुला — निर्माणाधीन दार्चुला–टिंकर सडक आयोजनाको स्थलगत अनुगमन तथा आगामी वर्षको कार्ययोजना निर्माणको उद्देश्यले नेपाली सेनाको टोली ब्याँस गाउँपालिका–१ छाङरु पुगेको छ।
नेपाली सेनाको दार्चुला–टिंकर सडक आयोजनाअन्तर्गत २५ बाहिनीका निमित्त बाहिनीपति महासेनानी तथा आयोजना प्रमुख प्रमुख सेनानीसहितको टोली सुन्सेराबाट नेपालको बाटो हुँदै छाङरु पुगेको हो। टोलीले छाङरुको सित्लामा निर्माणाधीन सेनाको क्याम्प, सडकको प्रगति तथा आगामी वर्ष सडक निर्माण गरिने क्षेत्रहरूको स्थलगत अध्ययन तथा अनुगमन गरेको जनाएको छ।
छाङरु पुगेको सेनाको टोलीलाई स्थानीयवासीले स्वागत गरेका छन्। गागादेखि छाङरु गाउँसम्म सडक निर्माण गरेर आवतजावत सहज बनाएको तथा छाङरुका दुई जना विपन्न बालबालिकालाई सैनिक विद्यालयमा अध्ययन गराउने जिम्मेवारीसमेत लिएको भन्दै स्थानीयले नेपाली सेनाप्रति धन्यवाद व्यक्त गरेका हुन्।
दार्चुला–टिंकर सडक रणनीतिक तथा स्थानीय जनजीवनका दृष्टिले महत्वपूर्ण आयोजना मानिन्छ। सडक निर्माणले व्याँस क्षेत्रका नागरिकलाई यातायात पहुँचसँगै विकासका विभिन्न अवसर जोडिने अपेक्षा गरिएको छ।
