दार्चुला। मालिकार्जुन गाउँपालिका–४ एरिछानामा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय कृषकहरूको पशु स्वास्थ्य सुधार तथा पशुपालन व्यवसायलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट ४७ जना कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
शिविरमा २९७ वटा बाख्रालाई जुकाको औषधि, भिटामिन, क्याल्सियम तथा अन्य आवश्यक पशु स्वास्थ्यसम्बन्धी औषधि वितरण गरिएको आयोजकले जनाएको छ। पशुहरूमा देखिने विभिन्न स्वास्थ्य समस्याको परीक्षण गरी आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो।
उक्त कार्यक्रम गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपाल, दार्चुलाद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत आयोजना गरिएको हो। कार्यक्रमले स्थानीय कृषकहरूलाई पशुपालनमा देखिने चुनौती न्यूनीकरण गर्न तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
शिविरको उद्घाटन तथा कार्यक्रमका प्रमुख अतिथि मालिकार्जुन गाउँपालिका–४ का कार्यवाहक वडा अध्यक्ष इन्द्र सिंह धामी रहेका थिए। उनले ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रमले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्नुका साथै कृषकहरूको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने बताए।
कार्यक्रममा मालिकार्जुन गाउँपालिकाको पशु शाखा प्रमुख, वडा भेटेरिनरी शाखाका प्राविधिक तथा स्थानीय जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। प्राविधिकहरूले पशु स्वास्थ्य, रोग नियन्त्रण, पोषण व्यवस्थापन तथा नियमित खोपको महत्वबारे कृषकहरूलाई जानकारी गराएका थिए।
स्थानीय कृषकहरूले शिविरबाट आफूहरू लाभान्वित भएको बताउँदै आगामी दिनमा पनि यस्ता पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।