दार्चुला । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत दार्चुला जिल्लामा हालसम्म अनुमानित लक्ष्यभन्दा बढी प्रतिष्ठान गणना गरिएको छ।
आर्थिक गणना कार्यालय दार्चुलाका प्रमुख निरज ओझाका अनुसार जेठ २८ गतेसम्म जिल्लामा ४ हजार ७ सय ९० प्रतिष्ठान गणना भइसकेका छन्, जुन अनुमानित संख्याको १०४.५ प्रतिशत हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयले दार्चुला जिल्लामा ४ हजार ५ सय ८३ प्रतिष्ठान हुने अनुमान गरेको थियो। तर गणना कार्य जारी रहँदा अनुमानित संख्याभन्दा बढी प्रतिष्ठान फेला परेका छन्।
यसअघि २०७५ सालको आर्थिक गणना मा दार्चुलामा ३ हजार ४ सय १३ प्रतिष्ठान गणना भएका थिए। हालको गणनाले जिल्लामा आर्थिक गतिविधि र व्यवसायिक प्रतिष्ठानको संख्या उल्लेखनीय रूपमा बढेको संकेत गरेको छ।
२०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणना कार्यक्रम अन्तर्गत गणना कार्य अझै जारी रहेको कार्यालयले जनाएको छ। प्रमुख ओझाका अनुसार हालको प्रगतिलाई हेर्दा असार ७ गतेसम्म गणना ११० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।
राष्ट्रिय आर्थिक गणना मुलुकभरका उद्योग, व्यापार, सेवा तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको अद्यावधिक विवरण संकलन गर्ने महत्वपूर्ण अभियान हो। यसबाट प्राप्त तथ्याङ्कले आर्थिक योजना निर्माण, नीति तर्जुमा तथा विकास कार्यक्रम सञ्चालनमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।