दार्चुला । नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रले नयाँ ग्राहकहरूका लागि उपलब्ध गराउँदै आएको सिंगल फेज इनर्जी मिटर वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
कार्यालयमा मिटरको अभाव भएपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो। नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले आज एक सूचना प्रकाशित गर्दै उक्त कुराको जानकारी गराएको छ ।
भोलि देखि लागु हुने गरी मिटर वितरण कार्य बन्द भएपछि नयाँ बत्ती जोड्ने तयारीमा रहेका दार्चुलाका स्थानीय बासिन्दा तथा सेवाग्राहीहरू भने मर्कामा पर्ने देखिएका छन्। प्राधिकरणले कार्यालयमा मिटरको आपूर्ति कहिलेसम्म भई पुन: वितरण सुरु हुनेछ भन्ने बारेमा सूचनामा केही खुलाएको छैन।
प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, “यस नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रबाट नयाँ ग्राहकहरूका लागि उपलब्ध हुँदै आएको सिङ्गल फेज ईनर्जि मिटर हाल कार्यालयमा मिटरको अभाव रहेको हुँदा मिति २०८३/०३/१० गते देखि अर्को सूचना प्रकाशित नभए सम्म नयाँ ग्राहकहरूको लागि सिङ्गल फेज ईनर्जि मिटर वितरण कार्य बन्द हुने व्यहोरा सम्पूर्ण ग्राहक वर्गमा यसै सूचना मार्फत जानकारी गराईन्छ।“
