दार्चुलाका विभिन्न सडक तथा पुल निर्माण गर्न प्रदेश सरकारले कति छुट्यायो बजेट ?

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दार्चुलाका विभिन्न सडक तथा पुल निर्माण एवं सडक स्तरोन्नति गर्नका लागि ९१ करोड २७ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको रातो किताबको विवरण अनुसार जिल्लाका ३१ वटा सडक तथा पुलका योजनामा बजेट छुट्याइएको हो । विनियोजित बजेटमध्ये गोकुलेश्वर–रिठाचौपाता–मैखोली–रातामाटा सडक स्तरोन्नतिका लागि सबैभन्दा बढी १२ करोड ५० लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

त्यसै गरी होपरीगाड सिप्टी–विनायक सडक स्तरोन्नतिका लागि आठ करोड रुपियाँ तथा खलङ्गा–खार–देथला–पारिबगड–खण्डेश्वरी सडकमा सात करोड रुपियाँ विनियोजन गरिएको छ ।

यहाँको प्रदेश गौरवको योजनाका रूपमा रहेको निर्माणाधीन खलङ्गा–खार–देथला–पारिबगड सडकखण्डमा आगामी वर्षका लागि प्रदेश सरकारले सात करोड रुपियाँ विनियोजन गरेको छ भने अन्य थुप्रै सडकमा पर्याप्त बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले सडक पहुँच विस्तार, दुर्गम बस्तीलाई यातायात सञ्जालसँग जोड्ने तथा ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि सहज बनाउने उद्देश्यले बजेट विनियोजन गरेको जनाएको छ । दार्चुलाका विभिन्न स्थानीय तहका सडक, पुल तथा स्तरोन्नति योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।

यहाँको तपोवन–निम्ठा–मुरै–विनायक–नौगाड गाउँपालिका केन्द्रसम्मको सडकमा र गरमोरा–सुतखोला–नागु सडक निर्माणका लागि पाँच पाँच करोड रुपियाँ छुट्याइएको छ । यस्तै होपरीगाड पक्की पुल, जौलजिबी–सेरा सडक, सिप्टी–सितोला–देउली हुँदै घुसा सडक तथा हिकिला–सिद्धटोपी–नागु सडकका लागि चार/चार करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
गोकुलेश्वर–बन्तोली–पनेबाँज सडकका निर्माणका लागि चार करोड रुपियाँ, मकरीगाडदेखि खण्डेश्वरी सडकमा तीन करोड, गोकुले–बलाँच–गन्ना सडकमा तीन करोड ६० लाख तथा मकरीगाड सडक पुल–पारिबगड–खण्डेश्वरी सडकमा एक करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार लटिनाथ सार्सी बजानी हुँदै दनी सडक, गाल्था–सिना ग्रामीण सडक स्तरोन्नति, दर्पा चन्दाकोट सडक स्तरोन्नति, घोरठा बस्ती ग्रामीण सडक स्तरोन्नति, खलङ्गा–श्रीबगर–मलेरा सडक, शङ्करपुर–जौलजिबी सडक तथा धाप–निसिल–बर्मुडे सडकका लागि दुई/दुई करोड रुपियाँ विनियोजन गरिएको छ । यस्तै देउकाली सजानी हुँदै महाकाली नगरपालिका–९ दत्तु सडक, मैखोली गराडी स्वास्थ्य चौकी सडक, दत्तु–थाप्ला–उलानी सडक, श्रीबगर–छापरी–बबा सडक स्तरोन्नति, खलङ्गा–मालुबेला–जाइझुल बाँज–झुस्कु–दल्लेक सडक, दल्लेक–नागु–सीना सडक तथा गोकुले–रातामाटा–लेकम गाउँपालिका केन्द्र जोड्ने सडक निर्माणका लागि एक/एक करोड रुपियाँ बजेट छुट्याइएको छ ।
त्यसै गरी रिठेगाड सडक पुल निर्माणका लागि ३८ लाख तथा छाङरु–तिङ्कर सडक निर्माणका लागि १९ लाख रुपियाँ विनियोजन गरिएको छ । यहाँका सरोकारवालाले सडक निर्माणमा विनियोजित बजेटप्रति खुसी व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.