कञ्चनपुर, दोधारा चाँदनीस्थित डीएन पोल्ट्री फिड एण्ड सप्लायर्सका सञ्चालक नवीन सिंह धामीले आफ्नो व्यवसायलाई प्रमाणबिना तस्करीसँग जोडेर सामाजिक सञ्जालमा बदनाम गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कारबाहीको माग गरेका छन्।
धामीका अनुसार असार ९ गते राति करिब १:३० बजे दोधारा चाँदनी नगरपालिका–१ स्थित प्रेम सिंह धामी र लोकेन्द्र चन्दको खोरबाट बोइलर कुखुरा लोड गरी आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया र कागजात पूरा गरेर सवारी नम्बर सु.प.प्र. ०१–००१ च ३३२३ मार्फत दोधरा–टिकापुरतर्फ पठाइएको थियो। सम्बन्धित निकायको जाँच तथा प्रक्रिया पूरा भएपछि मात्र गाडी गन्तव्यतर्फ पठाइएको उनको भनाइ छ।
उक्त समयमा आफूलाई स्थानीय तथा भ्लगर बताउने कमलराज भट्टले गाडी रोकेर अवैध सामान तथा तस्करी गरिएको भन्दै केहीबेर अवरोध सिर्जना गरेको धामीले बताएका छन्। वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिको उपस्थितिपछि गाडी जान दिइए पनि भट्टले सामाजिक सञ्जालमार्फत प्रमाणबिना तस्करीको आरोप लगाउँदै भिडियो सामग्री सार्वजनिक गरेको र त्यसबाट आफ्नो व्यवसायको प्रतिष्ठामा गम्भीर क्षति पुगेको धामीको दाबी छ।
धामीका अनुसार भट्टले आफ्नो फेसबुकमार्फत सशस्त्र प्रहरी बलका इन्सपेक्टर नरेन्द्र बिष्ट, दोधारा चाँदनी नगरपालिका–१ का वडाध्यक्ष विक्रमबहादुर चन्द तथा वडा सदस्यहरूलाई समेत मिलेमतोमा तस्करी गराएको आरोप लगाउँदै फेसबुकमा सामग्री प्रसारण गरेका थिए।
प्रमाणविहीन आरोपका कारण सामाजिक मानमर्यादामा आँच पुगेको भन्दै वडाध्यक्ष चन्दले पनि कारबाहीको मागसहित निवेदन दिएका छन्। यस्तै, सशस्त्र प्रहरीका इन्सपेक्टर बिष्टले पनि आफूमाथि लगाइएको आरोपप्रति गम्भीर आपत्ति जनाएका छन्।
यस विषयमा प्रतिक्रिया लिन कमलराज भट्टसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन। डीएन पोल्ट्रीका सञ्चालक धामीले भने व्यक्तिगत स्वार्थका लागि झुटा र प्रमाणविहीन सामग्री सम्प्रेषण गरी आफ्नो व्यवसायलाई बदनाम गरिएको आरोप लगाएका छन्।