मालपोतका कर्मचारी भ्रष्टाचारमा अब्बल, जनताको काम गर्न कमजोर !
नासु उपाध्यायको मृत्युपछि पनि भ्रष्टाचारी ठहर
कञ्चनपुर, १८ असार
मालपोतका कर्मचारी भ्रष्टाचारमा अब्बल, तर जनताको काम गर्न कमजोर भएको विभिन्न तथ्यहरुले पुष्टी गरेको छ । मालपोतका कर्मचारी भ्रष्टाचारमा लिप्त हुने गरेको विषय आरोपमा मात्रै सिमित रहेन, कर्मचारी जिउँदो पनि होईन मृत्यु भएपछिपनि भ्रष्टाचारी ठहर भएका छन । मालपोत कार्यालय पर्साका तत्कालीन नासु किरणप्रसाद उपाध्यायको मृत्यु पश्चात पनि भ्रष्टाचारी ठहर भएका हुन ।

राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा मालपोत कार्यालयका नायब सुब्बा मृत्युपछि दोषी ठहर भएका छन् । मालपोत कार्यालय पर्साका तत्कालीन नासु उपाध्यायलाई विशेष अदालतले मंगलबार दोषी ठहर गरेको जनाएको छ ।
उपाध्यायको मृत्यु भएकाले चार छोराबाट दुई करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बिगो भराउन आदेश भएको छ । गत १८ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले फैसला सुनाउँदै तत्कालीन चार अधिकृतलाई सफाइ दिई मृत्यु भएका नासुलाई मात्र दोषी ठहर गरेको हो । अधिकृतहरू हरिनारायण शाह, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीलाई विशेषले सफाइ दिएको हो । राजस्व दाखिला गर्ने जिम्मेवारी मालपोत अधिकृतहरूको नदेखिई रजिस्ट्रेसन फाँटका सम्बद्ध कर्मचारीको नै भएको भन्दै उनीहरूले सफाइ पाउने फैसलामा उल्लेख छ । तत्कालीन नासु उपाध्यायले ३१९ लिखत पारित गर्दाको दुई करोड ९१ लाख राजस्व हिनामिना गरेको अदालतको ठहर छ । अख्तियारले मुद्दा चलाउनुअघि नै उनको मृत्यु भइसकेको थियो । जसकारण उनका छोराहरू पशुपतिप्रसाद उपाध्याय, मुरारीप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय र राजकिशोरप्रसाद उपाध्यायबाट बिगो भराउन माग गरी अख्तियारले उनीहरूलाई समेत प्रतिवादी बनाएको थियो । सोही मागअनुसार उनीहरूबाट दामासाहीका हिसाबले प्रतिव्यक्ति ७३ लाख ४२ हजार १४१ रुपैयाँ बिगो असुल गराउन अदालतले भनेको छ ।‘निज किरणप्रसाद उपाध्यायको मृत्यु भइसकेको देखिँदा फौजदारी न्यायको सिद्धान्तसमेतको आधारमा निजलाई सजाय हुने अवस्था नभए पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ र फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र दफा १५८ समेतको कानुनी व्यवस्थाको आधारमा हानि–नोक्सानी भएको बिगो मृतकको हकमा सम्पत्ति खाने अंशियारबाट गर्नुपर्ने हुँदा हानि–नोक्सानी भएको उक्त बिगो दुई करोड, ९३लाख, ६८ लाख, ५सय ६५रुपैयामा उपाध्यायका हक खाने छोराहरू प्रतिवादी पशुपतिप्रसाद उपाध्याय, मुरारीप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय र राजकिशोरप्रसाद उपाध्यायबाट दामासाहीले हिसाब गर्दा हुन आउने रकम जनही ७३लाख, ४२ हजार, १सय ४१ रुपैया रकम असुली गरी राजस्वमा दाखिला गरिदिने ठहर्छ,’ विशेषको संक्षिप्त फैसलामा भनिएको छ ।
प्रतिवादीको मृत्यु हुँदैमा अपराध तथा भ्रष्टाचारबाट उन्मुक्ति नहुने कानुनी व्यवस्था रहेको छ । यसअघि नै अख्तियारले उनीहरूको सम्पत्ति रोक्का राखेर मुद्दा चलाएको हो । प्रतिवादीको मृत्यु हुँदैमा अपराध तथा भ्रष्टाचारबाट उन्मुक्ति नहुने र अंशियारबाट बिगो असुल गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार विशेषले मृतक नासुहरूका छोराहरूबाट हिनामिना भएको राजस्व असुल गर्न भनेको हो । आर्थिक वर्ष ०७१÷७२ मा मालपोत कार्यालयको फाँट ‘ग’को राजस्व हिनामिना भएको हो । एउटै नम्बरका दोहोरो÷तेहोरो रजिस्ट्रेसन नम्बर राखी एकभन्दा धेरै लिखत पास गरिएको थियो । कम राजस्व भएका लिखतहरू बैंकमा दाखिला गर्ने, तर बढी राजस्व भएका लिखतहरूको रेकर्डमै नराखी कर्मचारीबाट हिनामिना भएको थियो । अख्तियारले यसमा लिखत पास गर्ने अधिकृतको समेत मिलेमतो दाबी गरे पनि विशेषले नासुलाई मात्र दोषी ठहर गरेको हो । यसरी मालपोतका कर्मचारीको मृत्यु भएपछीपनि भ्रष्टाचारी ठहर भएपछि जनता हैरान भएका छन । अब कर्मचारीले जनताबाट घुस खाएर काम गर्ने कि नखाएरै आफ्नो कर्तव्य सम्झिएर गर्ने उनीहरुको हातमा छ । नयाँ जनक्रान्ति दैनिकबाटसाभार