दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को योजना तथा कार्यक्रमको भुक्तानी, लेखा अद्यावधिक तथा अन्य वित्तीय काम समयमै सम्पन्न गर्न सार्वजनिक बिदाका दिन पनि कार्यालय नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।
गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै नेपाल सरकार तथा महालेखा नियन्त्रक कार्यालयबाट जारी वित्तीय कारोबारसम्बन्धी व्यवस्थाअनुसार तोकिएको समयभित्र भुक्तानी, लेखा तथा अन्य आवश्यक कार्य सम्पन्न गर्नुपर्ने भएकाले असार २० र २१ गते परेको सार्वजनिक बिदाका दिन पनि कार्यालय खुला रहने जानकारी दिएको हो।
गाउँपालिकाका अनुसार आर्थिक वर्षको अन्त्यतिर हुने वित्तीय कारोबार र योजनाको भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न सेवाग्राही तथा सरोकारवाला सबैलाई सहजता प्रदान गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत दीपक राज जोशीद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबैलाई आवश्यक जानकारीका लागि सार्वजनिक बिदामा समेत कार्यालय सञ्चालन हुने उल्लेख गरिएको छ।