दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा जिल्ला सभा २०८३ आयोजना गरिएको छ । सभामा जिल्लाभित्रका स्थानीय तहबीच समन्वय, विकास निर्माणका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सुशासन प्रवद्र्धन तथा आगामी आर्थिक वर्षका प्राथमिकतामाथि विस्तृत छलफल गरिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूको अध्यक्षता तथा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, लगायत प्रतिनिधि तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा स्थानीय तहहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने, विकास आयोजनाको गुणस्तर तथा प्रगतिको अनुगमनलाई सुदृढ गर्ने, विपद् व्यवस्थापनमा संयुक्त प्रयास गर्ने तथा जनमुखी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ ।
सभाले आगामी आर्थिक वर्षका लागि आवश्यक नीति तथा कार्यक्रम, समन्वयात्मक योजना र जिल्लाको समग्र विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, स्थानीय तहहरूबीच अनुभव आदानप्रदान गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने विषयमा समेत साझा प्रतिबद्धता जनाइएको छ ।
नेपालको संविधानको धारा २२० अनुसार जिल्ला सभा जिल्लाभित्रका गाउँपालिका तथा नगरपालिकाबीच समन्वय गर्ने प्रमुख संयन्त्र हो भने जिल्ला समन्वय समितिले विकास निर्माण, अनुगमन तथा अन्तरसरकारी समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यवस्था रहेको छ ।
