दार्चुला । महाकाली लोकमार्ग (ब्रह्मदेव–दार्चुला–टिंकर) योजना कार्यालयले लाली–बाँकु सडकखण्डको निर्माणस्थलमा देखिएको विवाद समाधान गरी निर्माण कार्य अघि बढाउन आवश्यक समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ।
योजना प्रमुख ईश्वर कार्कीले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा महाकाली लोकमार्गअन्तर्गत ठेक्का नं. डीटीआरपी/३३७०११०३/०७७/७८-०४अन्तर्गत महाकाली लोकमार्गमा सडक उत्खनन र संरचनात्मक कार्यहरू(CH:२२३+०००देखि (२५७+०००, दार्चुला) परियोजनाको चेनज २३२+४५० देखि २५७+००० खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार निर्माण कार्य गर्न खोज्दा स्थानीयको अवरोधका कारण २०८२साल जेठ १६ गतेदेखि निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको उल्लेख गरिएको छ।
पत्रमा स्थानीयका अनुसार हालको डीपीआरअनुसार सडक निर्माण गर्दा सडक, बस्ती, लाली गाउँको खेतीयोग्य जमिन, सिँचाइ कुलो, खानेपानीका ट्यांकी तथा अन्य संरचना जोखिममा पर्ने भन्दै विरोध भइरहेको जनाइएको छ।
योजना कार्यालयले उक्त विषयमा विभागीय तथा मन्त्रालयस्तरसम्म जानकारी गराउँदा स्वीकृत डीपीआर र ठेक्का सम्झौताअनुसार नै निर्माण कार्य अघि बढाउन निर्देशन प्राप्त भएको जनाएको छ। साथै, क्षति न्यूनीकरणका उपाय अपनाएर निर्माण कार्य सञ्चालन गर्न र आवश्यक समन्वय तथा सहजीकरणका लागि यसअघि पनि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको उल्लेख गरिएको छ।
यद्यपि पटक–पटक स्थानीय सरोकारवालासँग छलफल हुँदा पनि सहमति जुट्न नसकेको र लाली–बाँकु संघर्ष समितिले निर्माण कार्यमा अवरोध जारी राखेकाले आयोजना प्रभावित बनेको पत्रमा उल्लेख छ। लामो समयदेखि विवाद कायम रहँदा निर्माण कम्पनीले पटक–पटक म्याद थप गरे पनि तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको अवस्था रहेको जनाइएको छ।
योजना कार्यालयले निर्माण कार्य सुचारु गर्न आवश्यक वातावरण निर्माणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित सबै पक्षसँग समन्वय, छलफल र सहजीकरण गरिदिन अनुरोध गरेको छ।
