ईन्फिनिटी लघुवित्त विरुद्ध पीडितको गुनासो, ऋण चुक्ता गर्दासमेत बक्यौता देखाएको आरोप

धन सिंह धामी
कञ्चनपुर, २३ असार ।
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा सञ्चालित ईन्फिनिटी लघुवित्त वित्तीय संस्थाविरुद्ध एक सेवाग्राहीले गम्भीर आरोप लगाएकी छन्। दोधाराचाँदनी–६ निवासी फुलमाया पाण्डेले आफूले लिएको ऋण विभिन्न चरणमा चुक्ता गरिसक्दा पनि संस्थाले अझै ठूलो रकम बाँकी रहेको देखाएर मानसिक तथा आर्थिक दबाब दिएको दाबी गरेकी हुन्।

पाण्डेका अनुसार व्यवसाय सञ्चालनका लागि समूहमार्फत लिएको ऋण तिर्न आफ्ना तथा परिवारका सदस्यको नाममा रहेको जग्गासमेत बिक्री गर्नुपरेको थियो। ऋण चुक्ता भएको जानकारी कर्मचारीबाट पाएपछि आफू ढुक्क भए पनि पछिल्ला वर्षहरूमा पुनः ऋण बाँकी रहेको भन्दै संस्थाका प्रतिनिधिहरू घरमै पुग्न थालेको उनले बताइन्।

उनले संस्थाका तत्कालीन केही कर्मचारी तथा पदाधिकारीहरूले ऋणीको सम्पत्ति खरिद गरेको र त्यस क्रममा अनियमितता भएको आशंका व्यक्त गरेकी छन्। ऋण चुक्ता गरिसकेको अवस्थामा पुनः ठूलो रकम बक्यौता देखाइनु अन्यायपूर्ण भएको उनको भनाइ छ।

न्यायको माग गर्दै पाण्डेले वडा कार्यालय, नगरपालिकालगायत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएकी छन्। उनीसँगै अन्य केही महिलाले पनि लघुवित्तका गतिविधिबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। आवश्यक कदम नचालिए आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।

यता ईन्फिनिटी लघुवित्तको केन्द्रीय कार्यालयले विगतमा दोधाराचाँदनी शाखाका केही कर्मचारीमाथि रकम अपचलनको आरोपमा आन्तरिक छानबिन गरी कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। संस्थाका कार्य विभाग प्रमुख कृष्ण खनालले केही कर्मचारीविरुद्ध अदालतमा मुद्दासमेत दायर गरिएको र अदालतबाट दोषी ठहर भएको जानकारी दिए।

खनालका अनुसार फुलमाया पाण्डेको विषयमा औपचारिक निवेदन नपरेका कारण तत्काल छानबिन हुन नसकेको भए पनि हाल उठेका विषयबारे आवश्यक तथ्य संकलन गरी अध्ययन भइरहेको छ। ऋण प्रवाह गर्ने कर्मचारीले ऋणीको सम्पत्ति खरिद गरेको पुष्टि भए त्यो संस्थाको नीतिविपरीत हुने भएकाले आवश्यक कारबाही गरिने उनले बताए।

दोधाराचाँदनी–६ का वडाध्यक्ष ओम बस्नेतले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउनुपर्ने बताए। इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रमुख कृष्ण सोनीले पनि घटनासम्बन्धी विवरण अध्ययन भइरहेको जानकारी दिएका छन्।

स्थानीय जनप्रतिनिधि तथा सामाजिक अगुवाहरूले ग्रामीण महिलालाई लक्षित गरी सञ्चालन हुने लघुवित्त संस्थाहरूको गतिविधिमाथि प्रभावकारी निगरानी आवश्यक रहेको भन्दै सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

Leave A Reply

Your email address will not be published.