सुदूरपश्चिम विश्वविद्यालयले पायो भिसी, प्राडा. किशनदत्त भट्टको नेतृत्वमा नयाँ अपेक्षा

कञ्चनपुर २३ असार ।
सुदूरपश्चिम विश्वविद्यालय (सुपवि) स्थापनाको १७ वर्षपछि पहिलो पटक विश्वविद्यालयभित्रैबाट उपकुलपति (भिसी) चयन गरिएको छ। सरकारले विश्वविद्यालयका पूर्व डीन तथा प्राध्यापक प्राडा. किशनदत्त भट्टलाई उपकुलपतिमा नियुक्त गरेसँगै विश्वविद्यालयले आफ्नै जनशक्तिबाट नेतृत्व पाएको हो।
वि.सं. २०६७ असार ३ गते स्थापना भएको विश्वविद्यालयमा यसअघि नियुक्त भएका स्थायी उपकुलपतिहरू अन्य विश्वविद्यालय वा बाह्य संस्थामा आबद्ध प्राध्यापकहरू थिए। संस्थापक उपकुलपतिदेखि विभिन्न चरणमा जयराज अवस्थी, भूषण श्रेष्ठ, अम्मराज जोशी, हेमराज पन्तलगायतले नेतृत्व सम्हालेका थिए भने संक्रमणकालीन अवधिमा पूर्णबहादुर चन्द, कर्णबहादुर थापा र यज्ञराज पाठकले जिम्मेवारी निर्वाह गरेका थिए।


यसपटक भने खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाइएको थियो। विभिन्न विश्वविद्यालयका १८ जना प्राध्यापकले आवेदन दिएकोमा अन्तिम सर्टलिस्टमा परेका उम्मेदवारहरूमध्ये भट्टलाई सरकारले उपकुलपतिका रूपमा चयन गरेको हो। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिबाट गरिएको नियुक्ति शिक्षामन्त्रीको संयोजकत्वमा रहेको छनोट समितिको सिफारिसका आधारमा भएको बताइएको छ।
कार्यभार सम्हालेपछि उपकुलपति भट्टले विश्वविद्यालयको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। उनले समयसापेक्ष पाठ्यक्रम निर्माण, आर्थिक आत्मनिर्भरता, आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूको पुनर्संरचना, दक्ष जनशक्ति उत्पादन, सुशासन, अनुसन्धान प्रवद्र्धन तथा डिजिटल प्रविधिको विस्तारलाई मुख्य कार्यसूची बनाएका छन्।
स्वागत कार्यक्रममा उनले शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूलाई जिम्मेवारीपूर्ण ढंगले काम गर्न आग्रह गर्दै विश्वविद्यालयप्रतिको जनविश्वास पुनःस्थापित गर्न सबैको सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार विश्वविद्यालयलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्नु आफ्नो प्रमुख लक्ष्य हुनेछ।
को हुन् किशनदत्त भट्ट ?
बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका भट्टले प्रारम्भिक शिक्षा गाउँमै पूरा गरेका थिए। परिवार कञ्चनपुरको भीमदत्त नगरपालिका बसाइँ सरेपछि उनले परखेडीस्थित सरस्वती माध्यमिक विद्यालय र त्यसपछि महेन्द्रनगरको नमुना माध्यमिक विद्यालयबाट अध्ययन अघि बढाए।
एसएलसीपछि उनले सिद्धनाथ विज्ञान क्याम्पसबाट आईएस्सी अध्ययन गरे। त्यसपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर इन्जिनियरिङमा स्नातक पूरा गरी उच्च शिक्षाका लागि हङकङ पुगे। उनले हङकङ विश्वविद्यालयबाट अर्बन प्लानिङ तथा डिजाइन विषयमा एमफिल र पीएचडी गरेका छन्।
शिक्षण पेशामा लामो अनुभव हासिल गरेका भट्टले ख्वप इन्जिनियरिङ कलेज, पुल्चोक इन्जिनियरिङ क्याम्पस तथा नेपाल इन्जिनियरिङ कलेजमा अध्यापन गरेका थिए। २०७२ सालदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा आबद्ध भएका उनी कार्यक्रम संयोजक, सहप्राध्यापक र डीनको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
उनको नेतृत्वमा इन्जिनियरिङ संकायले शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको बताइन्छ। स्वदेश तथा विदेशका विभिन्न शैक्षिक संस्थासँग सहकार्य विस्तार गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
चुनौती र अवसर दुवै
चार वर्षका लागि नियुक्त भएका भट्टमाथि विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार तथा संस्थागत सुशासन कायम गर्ने चुनौती छ। विगतमा राजनीतिक हस्तक्षेप, तालाबन्दी र प्रशासनिक विवादले प्रभावित बनेको विश्वविद्यालयलाई नयाँ दिशा दिन सक्ने अपेक्षा उनीमाथि गरिएको छ।
स्थानीय स्तरबाटै विश्वविद्यालयको नेतृत्वमा पुगेका भट्टले संस्थालाई अनुसन्धान, नवप्रवर्तन र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न सफल भए सुदूरपश्चिम विश्वविद्यालयले नयाँ गति लिन सक्ने विश्वास शैक्षिक क्षेत्र तथा नागरिक समाजले व्यक्त गरेका छन्। कञ्चनपुर पोष्ट दैनिकबाट

Leave A Reply

Your email address will not be published.