दार्चुला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा (फोटो फिचर)

दार्चुला । दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले आइतबार एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्लाभरीका जन्मेदेखि १५ महिनासम्मका २ हजार १ सय ३५जना र १६ महिनादेखि २३ महिनासम्मका १ हजार ३ सय २३ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै २४ महिनादेखि ५९ महिनासम्मका ५ हजार१८९ जना बालबालिकाहरुले पनि खोप लगाएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख विरेन्द्र भट्टले जानकारी दिए ।

दार्चुलालाई २०७३ मा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक बर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदैै आएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।

जिल्लाकै ६१ वटै वडा र ९ वटै पालिका पूर्ण खोप सुनिश्चित घोषणापछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाले पूर्ण खोप सुनिश्चित घोषणाका सबै मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको भट्टले बताए । जिल्लाका ९ वटै स्थानीय तहहरुलाई जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित पालिकाको प्रमाणपत्र प्रदान गरेको छ ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले जिल्लालाई हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि समितिकातर्फबाट गर्न सकिने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.