दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मालिकार्जुन गाउँपालिका समितिले आफ्नो पार्टी कार्यालयमा अनाधिकृत रूपमा तोडफोड गरी ताला फेरेको भन्दै प्रहरीमा उजुरी दिएको छ ।
शनिबार रास्वपा मालिकार्जुन गाउँपालिकाको पार्टी कार्यालयमा केही व्यक्तिहरूले ताला तोडफोड गरेको र कार्यालयभित्र भएको क्षतिको विवरणबारे पार्टीका कुनै पनि सदस्य वा पदाधिकारीहरूलाई जानकारी नदिई ढोकाको ताला तोडफोड गरिएको पत्रमा उल्लेख गरेको छ ।
पार्टी कार्यालयको पुरानो चाबी फुटाई नयाँ तालाचाबी लगाउने कार्यमा संलग्न रहेको भन्दै रास्वपाले ३ जना व्यक्तिहरू विरुद्ध उजुरी दिएको छ । पार्टीले मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिह धामी, पालिका प्रवक्ता मदन बहादुर चन्द र स्थानीय बासिन्दा मोहन सिंह धामीविरुद्ध प्रहरीमा उजुरी दिएको जनाएको छ ।
रास्वपा मालिकार्जुन गाउँपालिका समितिका सभापति दान सिंह खत्रीद्वारा हस्ताक्षरित सो पत्रमा, “यसरी गैर–कानुनी र अमर्यादित तरिकाले गरिएको क्रियाकलापप्रति पार्टी घोर विरोध गर्दछ र यसरी तोडफोड गर्ने व्यक्तिहरूलाई असभ्य तथा गैर–कानुनी कार्य गरे बापत दोषीहरूमाथि शिघ्र कानूनी कारबाहीको माग गर्दछौं,“ पत्रमा भनिएको छ ।
यसबारेमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव्म सूचना अधिकारी हेमराज भट्टले दुबैपक्षको निवेदन प्राप्त भएको भन्दै आवश्यक समन्वय भइरहेको बताएका छन् ।