साइबर अपराधबाट जोगिन जिल्ला प्रहरी कार्यालय दार्चुलाको आग्रह

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले बढ्दो साइबर अपराध तथा अनलाइन ठगीका घटनालाई मध्यनजर गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

कार्यालयले सार्वजनिक गरेको साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक सूचनामार्फत आर्थिक लाभ, लटरी, उपहार वा पार्सलको नाममा आउने प्रलोभनमा नपर्न अनुरोध गरेको छ। साथै अपरिचित व्यक्ति, शंकास्पद लिंक, इमेल तथा सामाजिक सञ्जालमार्फत प्राप्त हुने सन्देशप्रति विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रहरीले आधिकारिक स्रोतबाहेक अन्य स्थानबाट APK App डाउनलोड नगर्न, आफ्नो व्यक्तिगत विवरण, बैंकिङ सूचना तथा सामाजिक सञ्जालका गोप्य जानकारी सुरक्षित राख्न पनि अनुरोध गरेको छ। OTP, Verification Code, Password, MPIN लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, सामाजिक सञ्जालमा देखिने नक्कली पेज, वेबसाइट तथा मार्केटप्लेसबाट सावधान रहन, अपरिचित नम्बरबाट आएका फोन वा सन्देशको सत्यता पुष्टि गरेर मात्र विश्वास गर्न पनि प्रहरीले आग्रह गरेको छ।

सूचनामा Binance, Crypto, USDT, Online Betting, IX, Tab66, POPO लगायतका अनलाइन ट्रेडिङ तथा बेटिङ गतिविधि नेपालका प्रचलित कानुनअनुसार दण्डनीय हुन सक्ने उल्लेख गर्दै त्यस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ।

यदि अनलाइन ठगी भएको आशंका लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराई नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

सामाजिक सञ्जालमार्फत आफन्त वा साथीको नामबाट तत्काल रकम माग गरिएमा सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गरेर मात्र विश्वास गर्न पनि सचेत गराइएको छ। त्यसैगरी सबै अनलाइन खातामा 2FA (Two-Factor Authentication) वा MFA (Multi-Factor Authentication) प्रयोग गर्न र इन्टरनेटबाट डाउनलोड गरिएका शंकास्पद .exe फाइलहरू इन्स्टल नगर्न सुझाव दिइएको छ।

Leave A Reply

Your email address will not be published.