दार्चुला सहित सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरू , हर्‍यालो हालिँदै

बैतडी । दार्चुला सहित सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरू भएको छ । साउन महिनालाई यो क्षेत्रमा बत्ती बाल्ने महिनाको रुपमा मनाउने गरेका छन् ।

श्रावण महिना शुरुभएसंगै दार्चुलाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्ने गरिएको छ ।

आजका दिनदेखि देवीदेवताका मन्दिरहरुमा जाग्राम बसेर भजनकीर्तन गर्ने चलन समेत रही आएकोे स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।

साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका चलनहरु रही आएका छन् ।
साउन महिनामा मन्दिरहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले श्रावण महिनामा मन्दिरहरुमा भक्तजनहरु जाने गरेका छन् ।
श्रावण महिनालाई भगवान शिवको महिनाका रुपमा लिने गरिन्छ ।बत्ती बालेर जाग्राम बस्ने चलन रही आएको छ ।

श्रावण महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ । जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।

विभिन्न खालका बाधा र कष्टबाट मुक्ति पाउनका लागि यो महिना भगवान शिवको आराधना गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार शिवराज भट्टले बताए । सकारात्मक उर्जा प्राप्तिका लागि बत्ती बालेर साधना गर्ने गरिएको उनको भनाइ रहेको छ ।
हर्‍यालो हालिँदै

आज खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्‍यालो हाल्ने चलन छ ।

कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई हर्‍यालो हाल्नु हो । साउनमा देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्‍यालो हाल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए ।

साउने सङ्क्रान्ति दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने पनि गरिन्छ । यस्तै साउनमा खीर पकाएर खाने तथा चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ ।

असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतोआदि आउनसक्ने भएकाले जीउलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ ।
गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तीतेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जीउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ

Leave A Reply

Your email address will not be published.