भम्केनी धाममा एक महिने धार्मिक मेला प्रारम्भ

कञ्चनपुर ।
कञ्चनपुर महेन्द्रनगरको उत्तरी भेगमा अवस्थित भम्केनी धाममा आज देखि एक महिने धार्मिक मेला सुरु भएको छ।

मेलाको औपचारिक उद्घाटन कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले गरेका हुन्। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा, समाजसेवी तथा सयौं श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो।

आयोजकका अनुसार श्रावण महिनाभर प्रत्येक दिन नित्य पूजा, आरती, भजन–कीर्तन तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ। धार्मिक आस्था, संस्कृति र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

श्रावण महिनाको पहिलो दिनदेखि नै सयौंको संख्यामा श्रद्धालु भक्तजन भम्केनी धाम पुगेर दर्शन तथा पूजाआजा गरेका छन्। आगामी दिनमा भक्तजनको संख्या अझ बढ्ने अपेक्षा आयोजकको छ।

Leave A Reply

Your email address will not be published.