आगामी असोज मसान्तभित्र दार्चुला उद्योग वाणिज्य संघको निर्वाचन गर्ने तयारी

दार्चुला । दार्चुला उद्योग वाणिज्य संघले आगामी असोज मसान्तभित्र नयाँ कार्यसमितिको निर्वाचन गर्ने तयारी गरेको छ। संघले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै निर्वाचनको तयारीसँगै सदस्यता नवीकरण अभियान सञ्चालन गरिएको जनाएको हो।

संघका अनुसार आगामी निर्वाचनलाई व्यवस्थित र सहभागितामूलक बनाउन सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यवसायीलाई सदस्यता नवीकरण गर्न आग्रह गरिएको छ। सूचनाअनुसार साउन १ गतेदेखि भदौ १५ गतेसम्म सदस्यता नवीकरण गरिसक्नुपर्ने उल्लेख गरिएको छ।

सदस्यहरूको सुविधालाई ध्यानमा राख्दै संघले आन्तरिक राजस्व कार्यालयसँग सम्बन्धित विभिन्न सेवा पनि आफ्नै कार्यालयबाट निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। यसअन्तर्गत कर बुझाउने, कर विवरण पेश गर्ने तथा कर चुक्ता प्रमाणपत्र निकाल्ने लगायतका सेवामा व्यवसायीलाई सहजीकरण गरिनेछ।

संघले तोकिएको अवधिभित्र सदस्यता नवीकरण गरी आगामी निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यवसायीलाई अनुरोध गरेको छ। आगामी असोज मसान्तभित्र निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने तयारी संघले अघि बढाएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.