३६ घण्टासम्म धौलीगंगा बाँधको ढोका खोलिंदै

दार्चुला । दार्चुलासँग जोडिएको भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार आज सूचना जारी गर्दै जलविद्युत परियोजनाले लगातारको वर्षाका कारण नदीमा पानीको मात्रा बढेकाले बाँधको पानी खाली गर्न ढोका खोलिने जानकारी आएकाले सर्तकता अपनाउन भनेको हो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले जारी गरेको सूचनामा भोली बुधबार बिहान ६ बजेदेखि पर्सि साउन १४ गते बिहीबार अपराह्न ६ बजेसम्म बाँधमा जमेको सिल्ट गेग्रान सफा गर्ने कार्यका लागि बाँधका ढोका खोलिने बताएका छन् ।

प्रशासनका अनुसार उक्त अवधिमा महाकाली नदीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले नदी किनारमा बसोबास गर्ने, आवतजावत गर्ने तथा नदीजन्य गतिविधिमा संलग्न सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारका बासिन्दा, व्यवसायी तथा यात्रुहरूलाई अनावश्यक रूपमा नदी नजिक नजान, नदी तर्ने वा नदीजन्य कार्य नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचना तथा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै सम्बन्धित निकाय, स्थानीय तह तथा नागरिकलाई आवश्यक सतर्कता अपनाई सुरक्षित रहन समेत अपिल गरेको छ।

Leave A Reply

Your email address will not be published.