गोकुलेश्वर मावि गोकुलेश्वरको नयाँ विद्यालय भवनको शिलान्यास

दार्चुला । भारत सरकारको सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरको भवन निर्माण हुने भएको छ।

उक्त भवनको आज काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिह धामीले भवनको संयुक्त रूपमा उद्घाटन गरेका छन्। उक्त भवन भारत सरकारको हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत निर्माण हुन लागेको हो।

नगरपालिकाले भारत सरकारद्वारा प्रदान गर्दै आएको सहयोगको प्रशंसा गरेको छ । नयाँ पूर्वाधारले शैल्यशिखर नगरपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ ।

भारत सरकारको हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) अन्तर्गत निर्माण हुने यस परियोजनाको कुल लागत डिपिआरसहित १९ करोड ३३ लाख ४८ हजार १४० रुपैयाँ छ। परियोजना करिब ९० प्रतिशत भारत सरकार र १० प्रतिशत नगरपालिकाको लगानीमा कार्यान्वयन हुनेछ। भवन निर्माणको भ्याटबाहेक सम्झौता रकम ८ करोड ३२ लाख ८७ हजार ८ सय रुपैयाँ रहेको छ।
निर्माण कार्यका लागि आर एण्ड सिएस–डिएनएस–एसकेएनएस जेभी, महाकाली नगरपालिका–५, दार्चुलासँग २०८२ चैत ३० गते सम्झौता गरिएको हो। सम्झौताअनुसार निर्माण कार्य २०८४ चैत ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने समयसीमा रहेको शैल्यशिखर नगरपालिकाका प्रशासकीय अधिकृत भोजराज भट्टले बताए ।
परियोजनाअन्तर्गत चार वटा ब्लकमा अत्याधुनिक भवन निर्माण गरिनेछ। ती भवनमा सुविधा सम्पन्न कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय, छात्राबास, चमेनागृह, कबर्ड हल, घेरपर्खाल, बगैँचा तथा अन्य आवश्यक शैक्षिक पूर्वाधार निर्माण गरिने योजना छ।

शिलन्यास कार्यक्रममा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दन र शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामी, उप प्रमुख शान्ति खडायत, निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, विव्यस अध्यक्ष लक्ष्मी जोशी, प्रधानाध्यापक पिताम्बर बिष्ट, वडाअध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, निर्माण व्यवसायी लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.